सहकारीले गाउँ गाउँमा पुगेर प्रत्येक मानिसलाई बचत गर्न सिकाएको छ: मन्त्री अर्याल


काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले मुलुकको अर्थतन्त्रमा सहकारी क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

आइतबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारी रोजगार मेलाको समापन समारोहमा बोल्दै मन्त्री अर्यालले सहकारीले रोजगारी सृजना गर्ने देखि लिएर साना व्यवसाय स्थापित गर्नमा सहयोग पुर्याएकाे बताएका हुन् ।

समापन समारोहलाई सम्बोधन गर्दे मन्त्री अर्यालले सहकारीले गाउँ गाउँमा पुगेर प्रत्येक मानिसलाई बचत गर्न सिकाएको बताए । “सहकारीले आर्थिक रुपमा विपन्न नागरिकलाई उद्यमी बन्न सिकाएको छ । उनीहरुले उत्पादन गरेका उत्पादनलाई बजारको समेत व्यवस्थापन गरिदिएको छ,” उनले भने, “सहकारीकै कारण धेरै मानिसको जीवनस्तर उकासिएको छ । तर, केही निश्चित व्यक्तिको बदमासीको कारण सम्पूर्ण सहकारी क्षेत्र बदनाम भएको छ । तिनै बदमासले सहकारी संघ संस्थाका व्यक्तिलाई उचाल्ने, सहकारी क्षेत्रमा हुलहुज्जत गर्ने र सहकारीको बदनाम गराउँदैछन् ।”

सहकारीले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन गरेको सहयोगलाई विर्सन नहुने उनकाे भनाइ छ । सहकारीको योगदानको बिषयमा ठूलो बहस नै चलाउनु पर्ने उनले बताए ।

राष्ट्रिय सहकारी महासंघले गत शुक्रबार देखि सहकारी रोजगार मेलाको आयोजना गरेको हो । संघको परिसरमा नै मेलाको आयोजना गरिएको थियो । मेलामा विभिन्न स्टल तथा छलफल पनि गरिएको थियो ।