नेपाली अलैंची विश्व बजारमा निर्यात गर्न सरकारले पहल गरिरहेको छः कृषिमन्त्री साह


काठमाडाैँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले नेपालमा उत्पादित अलैंचीलाई विश्व बजारमा निर्यातको लागि सरकारले पहल गरिरहेको बताएकी छन् ।

सोमवार ललितपुरमा आयोजित ‘अलैंचीबारे वर्तमान स्थिति अवसर र चुनौती’ विषय राष्ट्रिय सम्मेलनमा बोल्दै कृषिमन्त्री साहले विश्व बजारमा नेपाली अलैंचीको माग बढ्दै गएकाले जीटुजीमार्फत निर्यात गर्ने गरी समन्वय र छलफल भइरहेको बताइन् । उनले अलैंची विश्व बजारमा निर्यातको लागि नीतिगत रूपमा सहजिकरण गर्नको लागि पुराना कानूनलाई संशोधन गर्ने तयारमा सरकार रहेको बताइन् ।

मन्त्री साहले अलैंची निर्यातको लागि नीतिगत र राजश्वको विषयलाई नीतिगत रुपमा सुधार गर्न जरुरी रहेको बताइन् । उनले कृषिमा बैंकको कर्जा र सरकारले लिने अनुदान कृषि गर्न चाहने किसानहरूको हातमा पुग्न नसकेको स्वीकार गरिन् । उनले कृषिमा राम्रो काम गर्नेहरू पुँजीको अभावजमा काम गरिरहने तर काम गर्न नचाहने काम चोरहरु फाइल लिएर हिडेकाहरू अनुदान लिएर दुरुपयोग गरेको बताइन् ।