काठमाडौँ । अमेरिकी सरकारी ऋणपत्र (बन्ड) को बिक्री तीव्र हुँदा त्यसको प्रतिफल (यिल्ड) पछिल्ला दुई दशकयताकै उच्च विन्दुमा पुगेको छ । यसले अमेरिका मात्र होइन, विश्वभर ऋण लिने लागत बढ्ने र सेयर बजारमाथि दबाब पर्ने चिन्ता बढाएको छ ।
यद्यपि, यी चिन्ताका बिच पनि आज शुक्रबार एसियाली सेयर बजार तुलनात्मक रूपमा स्थिर देखिएको रोयटर्सले जनाएको छ ।
युरोपेली सेयर बजार भने सकारात्मक सुरुआत गर्ने सङ्केत देखिएको छ । युरोपका प्रमुख सेयर सूचकहरूको फ्युचर्स कारोबार ०.६ प्रतिशतले बढेको छ।
तेलको मूल्यमा आएको केही कमीको प्रभाब बजारमा परेको अनुमान छ । अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुड तेलको मूल्य १.२ प्रतिशतले घटेर प्रतिब्यारेल १०५.३ डलरमा झरेको छ। अघिल्लो दिन भने यसको मूल्य करिब ३ प्रतिशतले बढेको थियो ।
इरानी राष्ट्रपतिले इरान युद्धको अन्त्य कहिले गर्ने भन्ने निर्णय अब अमेरिकाको हातमा रहेको बताएका छन्। उनको यो अभिव्यक्तिलाई कूटनीतिक समाधानको सम्भावनासँग जोडेर हेरिएको छ, जसका कारण तेल बजारमा केही राहत देखिएको छ ।
तेलको मूल्य फेरि प्रतिब्यारेल १०० डलरभन्दा माथि रहेकाले विश्वभर महँगी बढ्ने चिन्ता भने थपिएको छ ।
यसले अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) ले आगामी महिनाहरूमा ब्याजदर थप पटक बढाउन सक्ने अनुमानलाई बल दिएको छ । यही कारण अमेरिकी डलर पनि मजबुत बन्दै गएको छ र यो साताभरमा करिब १ प्रतिशतले मजबुत हुने दिशामा देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्