लिट्मस इन्डस्ट्रिज र अवसर इक्विटीबिच साझेदारी


काठमाडाैँ । नेपालमा विद्युतीय तार, केबल तथा कन्डक्टर उत्पादक लिट्मस इन्डस्ट्रिज र नेपालको पहिलो घरेलु निजी इक्विटी फन्ड अवसर इक्विटी डाइभर्सिफाइड फण्डबीच लगानीमा सहकार्य गर्ने रणनीतिक साझेदारी भएको छ।

परासी जिल्लामा अत्याधुनिक उद्योग स्थापना गरेर आफ्नो क्षमता विस्तार गर्ने योजना रहेको लिट्मस इन्डस्ट्रिजका लागि यो लगानी एउटा महत्त्वपूर्ण कोसेढुंगा साबित हुने बताइएको छ।

अवसर इक्विटीसँगको सहकार्यले लिट्मस इन्डस्ट्रिजको उत्पादन क्षमतामा वृद्धि गर्नुका साथै कम्पनीको सञ्चालनलाई सुव्यवस्थित बनाउँदै बजार उपस्थितिलाई थप मजबुत बनाउनेछ।

यसका साथै उक्त लगानीले कम्पनीलाई नवप्रवर्तन र उत्कृष्टता प्रतिको प्रतिबद्धता कायम राख्दै, ग्राहकको बढ्दो माग पूरा गर्न अझ सक्षम र सुदृढ बनाउनेछ।

लिट्मस इन्डस्ट्रिज लिमिटेडका प्रबन्ध निर्देशक रोहित गुप्ताले भने, “हाम्रो दुरदृष्टि र क्षमतामाथि अवसर इक्विटीको विश्वास हाम्रो समूह र कम्पनीको कडा परिश्रम र समर्पणको नतिजा हो। यो साझेदारीले हामीलाई हाम्रो सञ्चालन विस्तार गर्न, द्रुत गतिमा अत्याधुनिकीकरण गर्न र अन्ततः हाम्रा ग्राहकहरूलाई अझ गुणस्तरीय वस्तु र सेवा प्रदान गर्न साथै हाम्रा सरोकारवालाहरूमा कम्पनीको कुशलता र उत्कृष्टताको छापलाई अझ परिष्कृत बनाउन सक्षम बनाउनेछ।”

“हामी लिट्मस इन्डस्ट्रिजसँग नजिकबाट सहकार्य गर्न र उहाँहरूको सफलतामा योगदान पुर्‍याउन पाउँदा अत्यन्त उत्साहित छौं,” अवसर इक्विटी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत र अवसर इक्विटी डाइभर्सिफाइड फण्डका लागि कोष प्रबन्धक ध्रुव तिमिल्सिनाले भने।