बुढीगण्डकी करिडोर विकास प्राधिकरणको माग गर्दै बाबुराम भट्टराइले प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र


काठमाडौं । नेपाल समाजवादी पार्टीले बुढीगण्डकी करिडोर बहुउद्देश्यीय आयोजना सम्पन्न गर्नका लागि बुढीगण्डकी करिडोर विकास प्राधिकरण गठन गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

शुक्रवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझााएका हुन् ।

ज्ञापन पत्रमा बुढीगण्डकी करिडोर बहुउद्देश्यीय आयोजनालाई विद्युत प्राधिकरण अन्तर्गतको सहायक कम्पनीको रुपमा रहेको कमजोर संरचना खारेज गर्न माग गरिएको छ । अधिकार र साधन स्रोत सम्पन्न बुढीगण्डकी करिडोर विकास प्राधिकरण तुरुन्त गठन गर्न माग गरिएको पूर्वप्रधानमन्त्री डा। भट्टराईले जानकारी दिए ।

त्यस्तै प्राधिकरणमार्फत समग्र बुढीगण्डकी करिडोर विकासका कामहरु तिब्रताका साथ अगाडी बढाउन माग गरिएको छ । आयोजना प्रभावित नागरिकहरुका जायज मागहरुलाई पनि यथाशिघ्र सम्बोधन गर्न ज्ञापनपत्रमार्फत माग गरिएको छ ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा। भट्टराईले भने – ‘अहिलेजस्तो विद्युत प्राधिकरण अन्तर्गत एउटा सहायक कम्पनीबाट यो बन्न सक्दैन । त्यो भनेको नबनाउने कुरा हो । आलटाल गर्दै गएर यो अब बन्न सकेन भनेर जुन चलखेलका आशंका हिजोदेखि भएका थिए, त्यसलाई बल पु¥याउनेगरी यसलाई तुहाउने अथवा बनाइहालियो भनेपनि सानो जलविद्युत आयोजनाको रुपमा बनाउने । त्यतातिर जाँदैछ भन्ने हामीलाई लाग्छ, त्यसो भएको हुनाले गम्भीरतापूर्वक यो विषय उठाएका छौँ । उनले चाहेमा संसदमार्फत बुढीगण्डकी विकास प्राधिकरण ऐन ल्याएर यसलाई अगाडी बढाउन सक्नुहुनछ । हामीले भदौ मसान्तसम्मको समय दिएका छौँ । माग पुरा गर्नु भएन भने सरोकारवाला त्यहाँका जनतासँग मिलेर हामी आन्दोलनमा जान्छौँ ।’

पूर्वप्रधानमन्त्री भट्टराईले आफूहरुको माग भाद्र महिनाभित्र पूरा नभए असोज १ गतेदेखि सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिए ।