धान दिवसको पूर्वसन्ध्यामा नेपाल डेरी एसोसिएसनद्वारा दही चिउरा खाने कार्यक्रम सम्पन्न


काठमाडौँ । धान दिवसको पूर्वसन्ध्यामा नेपाल डेरी एसोसिएसनले दही चिउरा खाने एवं भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । एसोसिएसनको केन्द्रीय कार्यालय ललितपुरमा उक्त कार्यक्रमको आयोजना गरेकाे थियो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशनक डा. राजेन्द्र यादवले किसानले उत्पादन गरेको दुध तथा दुग्ध पदार्थ खपतमा वृद्धि ल्याउनकाे लागि यस्ता कार्यक्रमहरू गर्न जोड दिए । उनले भने,“दही चिउरा खानु हाम्रो संस्कृति हो । यस्तो कुराहरू वर्षमा एकचोटी मात्र होइन बारम्बार गरिरहनुपर्ने कार्यक्रम हो। दुग्ध उद्योगी र किसानहरूको लागि सदैव राष्ट्रिय दुग्ध विकास बोर्ड सहयोगीको भुमिकामा रहनेछ ।” उनले अहिले रोकिएको किसानको भुक्तानी दिलाउन बोर्ड पूर्ण रूपमा लागेको बताए ।

नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले असार १५ मा देशभर करिब ८० लाख लिटर दही खपत हुने र सो बापत करिब १ अर्ब ४० करोड रुपैयाँको कारोबार हुने जानकारी दिए । उनले भने, “यो दिन भनेको मानो रोपेर मुरी फलाउने दिनको रूपमा लिने गरिन्छ । असार १५ लाई धान दिवसको रूपमा मनाउने गरिन्छ । यस दिन सबै ठाउँमा दही चिउरा खाइन्छ । जुन अर्थतन्त्र र नागरिककाे लागि फाइदाकाे विषय हाे ।”

कार्यक्रममा पशु सेवा विभागका पशु विकास अधिकृत सिताराम ओली, केन्द्रिय दुग्ध सहकारीका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटाको उपस्थिति रहेको थियो भने एसोसिएसनबाट केन्द्रीय उपाध्यक्ष दीपप्रसाद धमला, मनोजकुमार घिमिरे, सह कोषाध्यक्ष रामभक्त दाहाल, सदस्य रमेश सञ्जेल, बागमती प्रदेश अध्यक्ष टिका प्रसाद घिमिरे, सचिव श्याम घिमिरे, ललितपुर दुग्ध व्यवसायी संघक उपाध्यक्ष दिपक सञ्जेलकाे उपस्थिति रहेको थियो ।