काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिबीचको ‘मिसम्याच’ अन्त्य गर्न सरकारले ‘जब म्याचिङ’ प्रणाली प्रभावकारी बनाउने बताएका छन् ।
बुधवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले चालु आर्थिक वर्षमा एक लाख व्यक्तिलाई ‘जब म्याचिङ’मार्फत रोजगारीमा जोड्ने लक्ष्य रहेको जानकारी दिए ।
मन्त्री यादवका अनुसार विगतमा मन्त्रालयको प्राथमिकता वैदेशिक रोजगारीमा बढी केन्द्रित भए पनि अहिले आन्तरिक रोजगारीलाई प्राथमिकता दिइएको छ। युवालाई स्वदेशमै रोजगारी तथा स्वरोजगारीको अवसर सिर्जना गर्न नीतिगत र कार्यक्रमगत सुधार अघि बढाइएको उनले बताए।
२०७१ सालमा राष्ट्रिय रोजगार नीति बने पनि त्यसको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक ऐन, नियमावली तथा कार्यविधि बन्न नसक्दा आन्तरिक रोजगारी क्षेत्रमा अपेक्षित काम हुन नसकेको उनको भनाइ छ।
सरकारले राष्ट्रिय रोजगार नीति २०८३ को मस्यौदामा सम्बन्धित मन्त्रालयबाट सैद्धान्तिक सहमति लिइसकेको र अब मन्त्रिपरिषद्मा पठाउने तयारी गरेको छ। राष्ट्रिय रोजगार ऐनसम्बन्धी प्रस्ताव पनि मन्त्रिपरिषद्मा पठाउने तयारी भइरहेको मन्त्री यादवले जानकारी दिए।
यसै वर्ष १२ वटा ‘फ्ल्यागसिप’ रोजगारी कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको उनले बताए। रोजगारदाता र श्रमिकबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्न पहिलोपटक ‘सीप तथा रोजगार मेला’ आयोजना गर्न लागिएको र आगामी वर्षदेखि सातवटै प्रदेशमा विस्तार गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्