सैपाल हिमालको काखमा नेपाल टेलिकमको सेवा, हुम्ला र बाजुराका दुर्गमका जनता


काठमाडौँ। नेपाल टेलिकमले दुर्गममा सेवा विस्तार तथा सुदृढिकरणलाई तिब्रता दिएको छ । टेलिकमले हुम्ला, बाजुरा र बझाङको सिमा क्षेत्रमा पर्ने सैपाल हिमालको काखमा रहेको रानीसैनमा टेलिफोन सेवा सञ्चालनमा नेपाल टेलिकमले जनाएको छ ।

हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ३ स्थित रानीसैनमा कम्पनीले भीस्याट प्रविधिबाट सेवा सञ्चालन गरेको जनाएको छ । अब यस क्षेत्रका ६ सय बढी बासिन्दाले सहज तरिकाले आफन्तसँग टेलिफोन गर्न सक्ने भएका छन्।

यसअघि करीव २० किलोमिटर तल लाम्पाटा र माथि ५ हजार ५ सय मिटर उचाईको साके पुगेर मात्र मोबाइल सेवामार्फत सम्पर्क गर्न सकिने अवस्था थियो ।

बाजुरा सदरमुकाम मार्तडी देखि गाडीमा एक दिन र त्यसपछि करिव चार दिन हिडेर तथा हुम्ला सदरमुकाम सिमकोट देखि गाडीमा तीन, चार घण्टा र एक दिन पैदल हिडेर मात्र यो स्थानमा पुग्न सकिने स्थानीय वासिन्दा सोनाम लामालाई उदृढ गर्दै कम्पनीले जनाएको छ ।

सैपाल हिमालको काखमा रहेको नाम्खा, रानीसैन चरिचरण क्षेत्र हो । यहाँ ६ महिना भन्दा बढी हिउँ पर्ने भएकाले अन्य समयमा मानिसको बसोबास हुँदैन ।

करीव ३ हजार ६ सय मिटरको उचाईमा अवस्थित यो क्षेत्रमा सेवा सञ्चालन भए पश्चात त्यहाँ बसोबास गर्ने हुम्ला र बाजुरा दुवै क्षेत्रका वासिन्दा लाभान्वित भएका छन्।

भीस्याट सेवा सञ्चालनका लागि आवश्यक उपकरण हुम्लाको ताँजाकोट जिमाना देखि करिव चार दिन सम्म मानिसले बोकेर रानीसैन पुर्‍याएका थिए ।

दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीतिअनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको कम्पनीले जनाएको छ ।

प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै चालु आर्थिक वर्षमा दार्चुलाको टिंकर, रसुवाको गोसाईंकुण्ड, संखुवासभाको किमाथांका लगायतका स्थानमा भीस्याटमार्फत सेवा सञ्चालन गरिएको कम्पनीका प्रवक्ता हरि ढकालले जानकारी दिए ।