कुल ग्राहस्थ्य उत्पादनमा कृषिको हिस्सा घट्दै गएको छ : अर्थमन्त्री पुन


काठमाडडौं । अर्थमन्त्री वर्षमान पुनले कृषिमा धेरै जनशक्ति रहेपनि कुन ग्राहस्थ उत्पादनमा कृषिको हिस्सा घट्दै गएको बताएका छन् ।शुक्रबार नेपाल–चाइना फ्रेन्डशिप फोरमले काठमाडौंमा आयोजना गरेको नेपालकाे कृषि रूपान्तरण विषयक सेमिनारमा बोल्दै अर्थमन्त्री पुनले नेपालको आफ्नै धरातल हेरेर जनशक्ति निर्माण, शिक्षा क्षेत्र, अर्थतन्त्रको निर्माण गर्नुपर्ने बताए।

नेपालमा कृषिको धेरै सम्भावना रहेको र कृषिमा ठुलो जनसंख्या भएकोले निजी क्षेत्रसँग मिलेर लगानी गर्नुपर्ने उनले उल्लेख गर्दै पुनले भने, “बर्खाको मौसममा कलकत्ता लखनऊमा जलमग्न हुने भएकोले यो समयमा नेपालको कृषिजन्य उत्पादनहरू निर्यात हुन्छ । नेपालमा सम्भावना नभएको होइन । त्यसैले मिलेर कृषिमा लगानी गर्नु पर्छ ।”

कृषिलाई आधुनिकीकरण गर्दै व्यवसाय बढाएर आयात प्रतिस्थापन गर्न सकिने धाराणा राख्दै अर्थमन्त्री पुनले कृषि दशक सुररु गरिसकेको हुनाले सरकार परिवर्तन भएपनि नीति परिवर्तन गर्न नहुने बताए ।

त्यस्तै काभ्रे पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले संघ र प्रदेश सरकारले कृषिको बजेट स्थानीय तहलाई दिने नगरेको बताए । उनले संघ र प्रदेशले स्थानीय तहलाई बजेट नदिई पहुँचको आधारमा अनुदान दिने गरिएको छ, स्थानीय तहलाई बजेट दिएर त्यही बाट कृषि अनुदान दिने व्यवस्था मिलाउनुपर्नेमा उनकाे जाेड छ।

खरेलले कृषि गरीबले मात्र गर्ने भाष्य निर्माण भएको छ यसलाई चिर्न आवश्यक रहेको बताए । कृषकलाई मुख्यगरी बाँदर र बँदेलले दुःख दिने गरेको जानकारी गराउँदै उनले भने, “बाँदर र बँदेलको आतंक धेरै छ । यसको नियन्त्रण गर्न केन्द्र सरकार र प्रदेश सरकारले सहयोग गर्नु पर्छ । यो कारणले पनि कृषि उत्पादनमा कमी भएको छ।”