सारांश
‘शक्ति’ वैदिक चिन्तनको एउटा केन्द्रीय अवधारणा हो । यो भौतिक विज्ञानमा ऊर्जा (Energy), दर्शनशास्त्रमा सृष्टिको गतिशील शक्ति तथा आध्यात्मिक परम्पराहरूमा चेतना र दिव्य शक्तिका रूपमा प्रयुक्त हुन्छ ।
विभिन्न सन्दर्भहरूमा शक्तिको अर्थ र शक्तिको प्रवाहको व्याख्या भिन्नभिन्न छन् । प्रस्तुत आलेखमा शक्तिको प्रवाहको वैज्ञानिक, दार्शनिक तथा आध्यात्मिक दृष्टिकोणबाट तुलनात्मक अध्ययन गरिएको छ ।
प्रस्तावना
सम्पूर्ण ब्रह्माण्ड गति, परिवर्तन र ऊर्जामा आधारित छ । जुन ठाउँमा गति छ, त्यहाँ कुनै न कुनै रूपमा शक्तिको अस्तित्व हुन्छ नै । वैदिक दर्शनशास्त्रले भन्दछ कि ‘शिव’ चेतना हुन् भने ‘शक्ति’ उनको क्रियात्मक अभिव्यक्ति हो । त्यस्तै आधुनिक विज्ञानले ‘शक्ति’लाई कार्य गर्न सक्ने क्षमताका रूपमा परिभाषित गर्दछ ।
विज्ञानको दृष्टिले शक्तिको प्रवाह : भौतिक विज्ञानका अनुसार ‘शक्ति’लाई न त निर्माण गर्न सकिन्छ, न त पूर्णतया नष्ट नै गर्न सकिन्छ, तर शक्तिलाई एक स्वरूपबाट अर्को स्वरूपमा परिवर्तन भने गर्न सकिन्छ।
उदाहरणका लागिः
☆ सौर्य ऊर्जाबाट प्राप्त शक्तिलाई वनस्पतिले रासायनिक ऊर्जा बनाउँछ।
☆ भोजनबाट शरीरमा जैविक ऊर्जा प्राप्त हुन्छ।
☆ इन्धनले यान्त्रिक ऊर्जा प्रदान गर्दछ।
☆ विद्युत ऊर्जा प्रकाश ऊर्जामा परिणत हुन्छ ।
तसर्थ, विज्ञानमा ‘शक्तिको प्रवाह’ मुख्य रूपमा ऊर्जाको स्थानान्तरण र रूपान्तरणका रूपमा बुझ्न सकिन्छ ।
दर्शनशास्त्रमा शक्ति :
‘शाक्त’ एवं ‘शैव’ परम्परामा शक्तिलाई सृष्टिको गति मानिन्छ :
☆ सृष्टिको उद्भव गतिको कारणले हो, गति नै शक्ति हो, तसर्थ सृष्टिको उद्भवको कारण ‘शक्ति’ नै हो ।
☆ सृष्टिको सञ्चालनको कारण पनि ‘शक्ति’ नै हो ।
☆ सृष्टिको परिवर्तनसमेत ‘शक्ति’को माध्यमबाट नै हुन्छ ।
यही दार्शनिक व्याख्या हो, र यसको उद्देश्य अस्तित्व र चेतनाको गहन सम्बन्धलाई गहिरो रूपमा बुझ्नु हो ।
वैदिक सनातन धर्ममा पञ्चदेव (पाँच देवता) सँगसँगै पाँच दर्शन र अनुशासन जोडिएका छन् । तिनका नाम र देवताहरू क्रमशः गणपत (देवता गणेश), सौर्य (देवता सूर्य), वैष्णव (देवता विष्णु), शैव (देवता शिव) र शाक्त (देवी शक्ति वा दुर्गा) हुन् ।
योग र तन्त्रको दृष्टिमा ‘शक्ति’ : योग र तान्त्रिक परम्पराहरूमा शक्तिको प्रवाहको वर्णन सूक्ष्म शरीर, नाडी र चक्रहरूको माध्यमबाट हुने भनी वर्णन गरिएको छ । यी परम्पराहरूको बुझाइमा ‘प्राण नै जीवनशक्ति हो’ ।
इडा, पिङ्गला र सुषुम्ना तीन प्रमुख नाडी हुन् । (आधुनिक चिकित्सा विज्ञानले दुईओेटा नाडीको प्रमुखतालाई व्याख्या गर्दछ । ती क्रमश : मेडला (Medula) र अब्लङगाटा (Oblongata) हुन् ।)
चक्रहरूलाई चेतना र साधनाक्रमका प्रतीकात्मक केन्द्रका रूपमा वर्णन गरिएको छ ।
यी अवधारणाहरूको आध्यात्मिक महत्त्व छ । आधुनिक विज्ञानले यिनलाई माथि उल्लेखित शारीरिक संरचनाका रूपमा प्रामाणिक व्याख्या गरेको छैन।
प्रकृतिमा शक्तिको प्रवाह : प्रकृतिमा शक्तिको निरन्तर प्रवाह भइरहेको हुन्छ ।
☆ सूर्यदेखि पृथ्वीसम्म प्रकाश पुग्नु,
☆ जलचक्रमा ऊर्जाको स्थानान्तरण हुनु,
☆ वायुको गति,
☆ जैविक प्रणालीमा भोजनबाट ऊर्जा प्राप्त हुनु तथा पारिस्थितिक प्रणालीमा ऊर्जाको क्रमिक प्रवाह हुनु ।
यस प्रकार सम्पूर्ण प्रकृति ऊर्जाकै सन्तुलित आदानप्रदानमा निर्भर छ ।
मनोवैज्ञानिक शक्ति : मानव जीवनमा ‘शक्ति’ केवल शारीरिक मात्र हुँदैन । मानसिक शक्तिको प्रवाह विचार,भावना, प्रेरणा, आत्मविश्वास तथा सकारात्मक व्यवहारका माध्यमबाट व्यक्त हुन्छ । उत्साह, करुणा र ज्ञानको अवस्थाले व्यक्ति तथा समाज दुवैलाई प्रभावित गर्दछ ।
सामाजिक शक्ति : समाजमा ‘शक्ति’को प्रवाह केवल बलले मात्र नभई ज्ञान, शिक्षा, नैतिकता, नेतृत्व, संवाद तथा सहयोगका माध्यमबाट पनि हुन्छ । जबजब ज्ञान र सदाचारको प्रसार हुन्छ, तब सामाजिक शक्तिको पनि विकास हुन्छ ।
आध्यात्मिक साधनाको दृष्टिकोणमा शक्ति : पूर्वीय साधना परम्पराअनुसार ध्यान, जप, योग, उपासना र आत्मअनुशासनका माध्यमबाट साधकले आफ्नो भित्रको शक्तिको विकास गर्ने प्रयत्न गर्दछ ।
यी अनुभवहरू व्यक्तिगत आध्यात्मिक साधनाका विषय हुन् तथा यिनको व्याख्या विभिन्न परम्पराहरूमा फरकफरक प्रकारले गरिएको पाइन्छ ।
समन्वित दृष्टिकोण : यदि विज्ञान र दर्शनशास्त्र दुवैलाई सँगै राखेर हेर्ने हो भने, शक्तिको प्रवाहलाई दुई स्तरमा बुझ्न सकिन्छ :
☆ वैज्ञानिक स्तरमा ‘शक्ति’ भनेको ऊर्जाको स्थानान्तरण र रूपान्तरण हो।
☆ दार्शनिक र आध्यात्मिक स्तरमा ‘शक्ति’ चेतना, प्राण, साधना र आत्मविकासको प्रतीकात्मक वा पारम्परिक अवधारणा हो ।
यी दुवै दृष्टिले भिन्नभिन्न प्रश्नहरूको उत्तर दिन्छन् र दुवै उत्तरले एकअर्काको स्थान अवश्य पनि लिँदैनन् ।
निष्कर्ष
‘शक्तिको प्रवाह कसरी हुन्छ ?’ यस प्रश्नको उत्तर सन्दर्भमा निर्भर गर्दछ । भौतिक विज्ञानका अनुसार शक्ति (ऊर्जा) विभिन्न माध्यमबाट एउटा स्वरूपबाट अर्को स्वरूपमा परिवर्तित र स्थानान्तरित हुन्छ ।
त्यस्तै दर्शन र आध्यात्मिक परम्पराअनुसार शक्तिलाई ब्रह्माण्डको गतिशील सत्ता तथा जीवनको आन्तरिक चेतनाका रूपमा देख्न सकिन्छ, जहाँ शक्तिको प्रवाह साधना, प्राण र आध्यात्मिक अनुभवका माध्यमबाट अभिव्यक्त हुने मान्यता छ ।
अतः शक्तिको प्रवाह केवल भौतिक घटना मात्र होइन, बरु सन्दर्भअनुसार वैज्ञानिक, दार्शनिक, मनोवैज्ञानिक तथा आध्यात्मिक अर्थहरूमा बुझ्नुपर्ने बहुआयामिक विषय हो। हरेक दृष्टिकोणले आ–आफ्नो क्षेत्रमा मानव ज्ञानलाई समृद्ध पार्दछ ।


प्रतिक्रिया दिनुहोस्