अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच दरिलो तालमेल नभए अर्थतन्त्र थप संकटमा जान्छः सांसद चौधरी


काठमाडौँ। नेपाली काँग्रेसका सांसद विनोदकुमार चौधरीले कोभिडपछि राष्ट्र बैंकले लिएको आयात प्रतिवन्धको नीति आगामी मौद्रिक नीतिमार्फत करेक्शन गर्न आवश्यक रहेको बताएका छन्।

सोमवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा बोल्दै सांसद चौधरीले मुलुकको वाह्य अर्थतन्त्र कमजोर बन्दै गएको अवस्थामा नियन्त्रण गर्नको लागि आयातमा राष्ट्र बैंकले लगाएको नीतिमा परिमार्जन गर्न ठिक समय आएको बताएका हुन्।

चौधरीले हालको नीतिको कारण मुलुका आयात नबढ्दा राजश्व लगायत क्षेत्रमा असर परेको चर्चा गदैै अर्थतन्त्रको वाह्य क्षेत्र परेको असर कम गर्न अन्य देशले गर्न नसकेको काम राष्ट्र बैंकले गरे पनि समय अनुुसार करेक्शन गर्न नसकेको बताए।

चौधरीले उक्त नीतिको कारण राजश्व १० अर्बबाट निरन्तर ओरालो लागेको र अप्रत्यासित रुपमा सरकारको आन्तरिक ऋण समेत बढ्दै गएको उल्लेख गरे।

उनले बैंकको कर्जा सबै अनउत्पादन क्षेत्रमा लगानी हुँदा रोजगारी सिर्जना समेत हुन नसकेको तथा पछिल्लो समय साना तथा घरेलु उद्योगहरु सबै भन्दा बढी प्रभावित र विस्थापित भएको उल्लेख गरे।

चौधरीले भने, “अर्थमन्त्रालय र राष्ट्र बैंकबीच दरिलो समन्वय र तालमेल भएन भने अहिले भइरहेको वर्तमान स्थिति दुर्घटना थप अघि बढ्ने निश्चित छ । समय सही छ । नयाँ सत्ता समिकरण बनेर सरकार परिवर्तन भएर स्थायी सरकार आउने वातावरण बन्दै छ । त्यो बेलामा आउने मौद्रिक नीतिले लगानी, माग वृद्धि,पुँजी चलायमान बनाउने मुख्य माध्यम भनेको मौद्रिक नीति हो ।”

चौधरीले मौद्रिक नीति लगानी, माग वृद्धि,पुँजी चलायमान बनाउने मुख्य माध्यम भएको बताए।

—न्युज एजेन्सी नेपाल