दिगोले नेपाली बजारमा आफ्नै ब्रान्डमा १६ र १९ सिटर बिधुतिय गाडी ल्याउने


काठमाडाैँ । बिधुतीय गाडी कम्पनी दिगोले अब नेपाली बजारमा आफ्नै ब्रान्डका १६ र १९ सिटर बिधुतिय गाडी ल्याउने भएको छ । १०० किलोवाट पीक पावर प्रदान गर्ने मोटर भएको १६ सिटर दिगो ईभी ५ नाम दिएको गाडीमा ५० किलोवाट आवर क्षमताको ब्याट्री आउनेछ भने ईभी ६ नामक १९ सिटर गाडीमा १२० किलोवाट पीक पावर प्रदान गर्ने मोटर र ८६ किलोवाट आवर क्षमताको ब्याट्री आउने जनाइएकाे छ ।

ब्याट्री निर्माता कम्पनी सिएटीएलले बनाएको लिथियम आयन फस्फेट ब्याट्री भएको १६ सिटर गाडीले एक पटकको फुल चार्जमा ३२० किलोमीटर गुड्ने र १९ सिटर भने यस सेगमेन्टकै सबैभन्दा धेरै रेन्ज ४०० किलोमीटर सम्म गुड्ने दिगोले दाबी गरेको छ ।

बढी मान्छे बोक्न सक्ने क्षमताको साथै बढी रेन्ज भएकोले यी गाडीहरु व्यवसायीका लागि एकदम लाभदायी रहेकाे कम्पनीले उल्लेख गरेकाे छ । दिगोले मूल्य नतोकेपनि अहिले बजारमा भएको अन्य गाडीहरु भन्दा उपयुक्त मुल्यमा र ग्राहकलाई बढी फाइदा हुनेगरी यी गाडीहरु भित्राउन लागेको जनाएको छ ।  

बजारको माग हेर्दै दशैंलाई लक्षित गरेर ल्याउन लागिएको उक्त १६ र १९ सिटर बिधुतिय गाडीको बुकिङ भने अहिलेदेखि नै खुला भएको कम्पनीले जनाएकाे छ। बुकिङ्ग खुलेको सानो समयमै २५ वटा १६ सिटर र १३ वटा १९ सिटरको बुकिङ्ग भईसकेको पनि दिगोले सार्वजनिक गरेको छ ।

दिगो ग्रुप नेपालमा पछिल्लो दशक देखि बिधुतीय गाडी तथा यसको इकोसिस्टममा काम गर्दै आएको छ । दिगो ग्रुप नेपालमा डीएफएसके, सिएचटिसी मोटर्स, जेएसी ईभी गाडीहरुको साथै विश्वकै सबैभन्दा ठुलो चार्जर कम्पनि स्टारचार्जको अधिकारक वितरक हो ।