आर्थिक र वित्तीय स्थायित्व दिनेगरी आगामी मौद्रिक नीति तय हुन्छः गभर्नर अधिकारी


काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको आर्थिक र वित्तीय स्थायीत्व दिनेगरी आगामी मौद्रिक नीति तय हुने बताएका छन्।

बिहीवार इकोनोमिक मिडिया एसोसिएशन नेपालले काठमाडौंमा आयोजना गरेको प्रि–मौद्रिक नीतिबारे छलफलमा बोल्दै गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंकको अन्य केही उद्देश्य नभएको भन्दै मुलुकको वर्तमान आर्थिक,वित्तीय स्थायित्व र सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यमा आधारित भएर मौद्रिक नीति ल्याउने बताएका हुन्।

उनले बैंकिङ क्षेत्रलाई कसरी चुनौतीसँग सामना गर्नसक्ने बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित हुने जनाउँदै उनले बैकिङ क्षेत्रमा सबैको संधै आकर्षण रहने बनाउन सक्नुपर्ने बताए।

कुनै व्यवसायलाई असर पर्ने नीति नआउने अधिकारीको स्पष्टोक्ती छ। बैंकिङ क्षेत्रसँग भएको स्रोतलाई उत्पादन मुलक क्षेत्रमा लैजाने र थोरै भएपनि रोजगारी सिर्जना गर्नेगरी बैंकहरु लाग्न आवश्यक रहेको उनको भनाइ छ।

गभर्नर अधिकारीले निर्यात मुलुक उद्योग स्थापना गर्ने काममा बैंकको स्रोत प्रयोग हुन आवश्यक रहेको चर्चा गर्दै मौद्रिक नीति बनाउने राष्ट्र बैंक अन्तिम चरणमा पुगेको बताए।

अधिकारीले राष्ट्र बैंकले गर्न सक्ने जति नीतिहरुमा सीमाभित्र रहेर काम गर्ने बताए। उनले मुलुकको अर्थतन्त्रका समग्र सूचकहरु हेर्दा निर्माण उद्योग र औद्योगिक उद्योग ऋणात्मक भएको जानकारी दिए।

गभर्नर अधिकारीले भने, “बैंकिङ क्षेत्रसँग भएको स्रोतलाई उत्पादन मुलक क्षेत्रमा लैजाने र थोरै भएपनि रोजगारी सिर्जना गर्नेगरी बैंकहरु लागुन् । निर्यात मुलुक उद्योग स्थापना गर्ने काममा स्रोत प्रयोग होस् । जसले गर्दा समग्र अर्थतन्त्रलाई प्रत्येक उद्योग व्यवसायको योगदान रहन्छ । बैंकिङ उद्योगको पनि योगदान रहन्छ भन्ने उद्देश्यले मौद्रिक नीति तय गर्ने हो ।”

अधिकारीले होटल, ऊर्जा क्षेत्रमा उत्साहजनक वृद्धि भइरहेको भन्दै समग्र सबै क्षेत्र नकारात्मक छ भन्ने धारणा राख्न नहुने बताए। मौद्रिक नीतिले उद्योग व्यवसाय सहज वातावरण बनाउने अधिकारीको प्रतिवद्धता छ।

—न्युज एजेन्सी नेपाल

Skip This