पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि दैनिक नियमित अन्तर्राष्ट्रिय उडान


काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ३ वर्षपछि आजदेखि पहिलो दैनिक नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुँदैछ ।

यसअघि साप्ताहिक र चार्टर्ड उडान भए पनि आजदेखि ‘फ्लाई दुबई’ले पहिलो पटक दैनिक अन्तराष्ट्रिय उडान गर्न लागेको हो । ‘फ्लाई दुबई’को बिमानले आज साँझ ६ः१५ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग छुनेछ ।

सार्वजनिक गरिएको कार्यतालिकाअनुसार दुबईदेखि पोखरा आएको फ्लाइ दुबईको जहाज र यात्रुलाई पानीको फोहरासहित फ्लाई दुबईको जहाज र यात्रुलाई स्वागत गरिनेछ ।

फ्लाइ दुबईको एयर बस ३१९/३२० को जहाज पोखराबाट यात्रु लिएर साँझ ७ः१५ बजे दुबईका लागि उड्नेछ । एयर बस ३१९ मा १४० देखि १५० सम्म र एयर बस ३२० मा १६० देखि १८० सम्म यात्रु क्षमताको छ ।

‘फ्लाई दुबई’को दैनिक नियमित उडानको सम्पूर्ण तयारी पुरा भएको विमानस्थलले जनाएको छ । पोखरा विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले भने,“हामीले सबै तयारी पुरा गरेका छौँ । अब पखाइमात्रै हो ।”

महाप्रबन्धक निरौलाका अनुसार नागरिक उड्ययन प्राधिकरण,नेपाल प्रहरी, भन्सार तथा अध्यागमन कार्यालयको तर्फबाट हुने सम्पूर्ण तयारी पुरा भएको छ ।