प्रधानमन्त्री ओलीद्वारा शपथ ग्रहण, २२ सदस्यीय मन्त्रीपरिषद् बिस्तार


काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । सोमवार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

प्रधानमन्त्री ओलीले देशको ४५ औँ प्रधानमन्त्रीका रूपमा शपथ लिएका हुन्। शपथग्रहण समारोहका उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरु, सांसद, कुटनीतिक नियोगका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि पद तथा गोपनियताको शपथग्रहण गरे । प्रधानमन्त्री ओलीले आज नै २२ सदस्यीय मन्त्रीपरिषद् गठन गरेका हुन् ।

मन्त्रिपरिषदमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, गृहमन्त्री रमेश लेखक, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, परराष्ट्रमन्त्री डा. आरजु राणा, खोनपानीमन्त्री प्रदीप यादव, भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी,स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कार्यभार सम्हालेका छन्।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, रक्षामन्त्री मानवीर राई, उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्का, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले पनि पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

https://www.facebook.com/share/v/pV3wrQRxitxyBcMe