कर्मचारीको आन्दोलनका कारण कृषिमन्त्री अधिकारीले गरेनन् पदभार ग्रहण


काठमाडौँ । नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदभार ग्रहण नगरी फर्किएका छन् । सोमबार पद तथा गोपनीयताको शपथग्रहणसँगै मन्त्रालयमा पुगेका उनले कर्मचारीको आन्दालेनका कारण पदभार ग्रहण गर्न नपाएका हुन् ।

चारबुँदे मागसहित कृषितर्फका प्राविधिक कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । उनले सो क्रममा मन्त्रालयमा कार्यरत आन्दोलित राजपत्रांकित तेस्रो श्रेणीका प्राविधिकहरूको समस्या समाधान चाँडै समाधान गर्ने बताएका छन् ।

उनले सो बारेमा गहन अध्ययन गर्ने र त्यसका लागि समय माग गरे । आफूले पहिलो प्राथमिकतामा राखेर समस्या समाधान गर्ने बताए ।

“अहिले क्याबिनेट बस्दै छ । तपाईंहरूका समस्याहरू मैले सुनेँ । तर, यसलाई राम्रो ढंगबाट अध्ययन गरेर निर्णय लिनेछु । पहिलो प्राथमिकतामा राखेर अध्ययन गर्नेछु । केही समय दिनुस्, समस्याको समाधान गर्न म तयार छु । समय दिनुस्, साथमा म रहनेछु,” उनले भने ।