नेपालको अटोमोबाइल क्षेत्रमा देखिएका समस्या हटाउन अर्थमन्त्री सकारात्मक


काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रतिनिधि मण्डलले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेको छ। आज (बिहीबार) अर्थमन्त्री पौडेललाई भेटेर नाडाले अटोमोबाइल क्षेत्रका समस्या सम्बोधन गर्न आग्रह गरेका हुन्।

उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले सुस्ताएको नेपालको अटोमोबाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक पर्ने नीतिहरूमा सुधारका लागि आग्रह गर्दै नाडाको तर्फबाट २२ बुँदे सुझावहरू समेत पेश गरेका छन् ।

उक्त छलफलमा खासगरी पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरुलाई बैकहरूबाट हायर पर्चेज कर्जा प्रवाह गर्ने प्रकियामा लोन टू भ्यालु रेसियोमा हाल ५० प्रतिशतको सीमालाई बढाएर ७५ प्रतिशत पुर्‍याउनुपर्ने सुझाव राख्दै कालोसूचीमा रहेको व्यक्ति फर्मलाई कर चुक्ता तथा नवीकरण गर्न रोक लगाइनुपर्ने नाडाको आग्रह छ।

यसका लागि बैंकले कालोसूचीमा राखेको ग्राहकलाई कर कार्यालयले पनि कालोसूचीमा राख्ने व्यवस्था गर्नुपर्ने तथा अनुसूची १३ मा देखाइएको बक्यौतालाई आधिकारिक मानी कानूनी प्रक्रियामा जान मिल्नेगरी कार्यविधि तयार गर्नुपर्ने सुझाव नाडाले दिएको छ।

त्यसैगरी कालोसूचीमा परेका व्यक्तिहरूले पनि अन्य बैंकहरूबाट आफ्नो कारोबार गरिरहेको देखिएकोले कालोसूचीमा परेका व्यक्ति वा कम्पनीमाथिको कारबाही ज्यादै फितलो हुन गएको गुनासो नाडाको छ।

त्यसैक्रममा अध्यक्ष चौधरीले चालु पुँजी कर्जा मार्ग दर्शन २०७९ का सम्बन्धमो चालुपुँजी कर्जा मार्गदर्शन लागु भएको मितिभन्दा अगाडि कर्जा लिएकाहरुलाई त्यो व्यवस्था लागु नहुने तर यो लागु भएको मितिपछि कर्जा लिएकाहरुलाई मात्रै चालुपुँजी कर्जा मार्गदर्शन २०७९ लागु हुनेगरी कार्यान्वयनमा ल्याएमा सम्पूर्ण समस्याको समाधान हुने सक्ने धारणा राखे ।

उक्त छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले नेपाल राष्ट्र बैंकले नीजि प्रयोजन र व्यावसायीक महत्वका सवारी साधनहरूलाई स्पष्ट रूपमा छट्याई सोहि अनुरुप बैंक लगानी गर्न सहजीकरण गर्न माग गरेकाे छन् ।

सोही छलफलको क्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले नेपालको सीमा क्षेत्रमा कडाइ गरिनु पर्ने भनाइ राख्दै नेपाल मै उत्पादन हुने सबै किसिमका अटोमोबाइल, स्पेयर पार्टस्, ब्याट्री, लुब्रिकेन्टस् तथा टायरहरू निर्यात गर्दा अन्य निर्यात बस्तुहरूले पाउने सरहको छुट पाउने व्यवस्था हुनु पर्ने तथा नेपालमा उत्पादित ब्याट्री तथा टायरहरूलाई पनि नेपालको गुणस्तर प्रमाण चिन्ह एनएस पाउने व्यवस्थाका लागि आग्रह समेत गरे ।

छलफलको अन्त्यमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले नाडाको तर्फबाट राखिएका नीतिगत विभिन्न सुझावहरूप्रति जिज्ञासा र चासो राख्दै ती सुझावहरूका सम्बन्धमा सरकारले आवश्यक पहल गर्ने बताए ।

उक्त छलफलमा नाडाका निबर्तमान अध्यक्ष डा. ध्रुव थापा, बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा एसोसिएसन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।

Skip This