न्युरोडको फुटपाथ बढाउन स्थानीयको अवरोधः महानगर भन्छ – काम रोकिँदैन


काठमाडाैँ । काठमाडौं महानगरपालिका वडा नं. २२ स्थित न्युरोडका स्थानीयले काठमाडौं महानगरपालिकाले फुटपाथ बढाउन थालेको कामलाई अवरोध गरेका छन् ।

शुक्रवार काठमाडौं महानगरपालिकाले वडा नं. २२ स्थित न्युरोड परिसरमा फुटपाथ बढाउने काम गरेको थियो । केही दिन अघि उच्च अदालतले फुटपाथ बढाउने महानगरपालिकाको काम अगाडी बढाउन सकिने आदेश दिएसँगै महानगरले फुटपाथ बढाउने काम शुरु गरेको थियो । स्थानीयले फुटपाथ बढाउने कामको बिरोध गर्दै अवरोध गरेका हुन् ।

उनीहरुले महानगरपालिका विरुद्ध नाराबाजी गर्दै काममा अवरोध गरेका थिए । काठमाडौं महानगरपालिकाले भने कानूनको परिपालना गर्दै काम गरिएको भन्दै अवरोध गर्नेहरुले अदालतको आदेशको अवहेलना गरेको बताएको छ । अदालतलको आदेशको अवहेलना गर्नेलाई कानूनअनुसार कारबाही हुने चेतावनी समेत दिइएको छ ।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै काठमाडौं महानगरपालिका प्रमुखका स्वकिय सचिव भूपदेव साहले महानगरले पूर्वयोजना अनुसारको काम अगाडी बढाएको बताए । उनले अदालतको आदेशअनुसार आफूहरुले काम गरेको भन्दै कानून अनुसार अगाडी बढ्ने उल्लेख गरे । काम नरोकिने र अदालतको आदेश कडाइपूर्वक कार्यान्वयन गर्ने जनाउँदै शान्ति सुव्यवस्था कायम गर्ने जिम्मेवारी नेपाल सरकारको भएको उनले बताए । 

उनले महानगरपालिकाले न्यूरोडमा फुटपाथ बढाउने काम नरोक्ने स्पष्ट पारे ।