मुलुकमा विद्यमान गरिवी हटाउने गरी आवश्यक कार्यक्रम तत्काल ल्याउँछौंः प्रधानमन्त्री ओली


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा विद्यमान गरिवी हटाउनका लागि सरकारले आवश्यक कार्यक्रम ल्याउने बताएका छन् ।

आइतवार प्रतिनिधि सभा बैठकमा आफूमाथिको विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् । राष्ट्रिय योजना आयोगको नेतृत्वमा एउटा संयन्त्र बनाई सरकारले गरिवी हटाउनका लागि आवश्यक कार्यक्रम तर्जुमा गर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

उनले सबै पालिकामा खाद्य भण्डारणको स्थापना गर्न स्थानीय तहसँग सरकारले तत्काल समन्वय र सहकार्यको कामलाई अघि बढाउने बताए ।

उनले भने, “सबै पालिकामा खाद्य भण्डारणको स्थापना गर्न स्थानीय तहसँग समन्वय र सहकार्य गर्नेछौं । यस बाहेक निरपेक्ष गरिवी चाँडोभन्दा चाँडो कसरी हटाउने भन्ने सम्बन्धमा योजना आयोगको नेतृत्वमा सम्बन्धित मन्त्रालयको एक संयन्त्र तयार पार्नेछौं ।”

प्रधानमन्त्री ओलीले सडकमा बालबालिकाहरूलाई बेहाल हुन नदिनका लागि आफूले मन्त्रीपरिषद्को पहिलो बैठकबाट नै आवश्यक निर्णय गराएको स्मरण गराए ।