काठमाडाैँ । ज्योति विकास बैंकले स्थापनाको १६औं वार्षिकोत्सव सम्पन्न गरेको छ। नागरिकहरूको जीवनमा सार्थक र साश्वत समृद्धि ल्याउने मूल उद्धेश्यका साथ वि.सं. २०६५ सालको श्रावण ०९ गते ज्योति विकास बैंककाे स्थापना भएको थियाे । याे बैंकले २०८१ साउन ९ गते १६ वर्षको सफल यात्रा पुरा गरि १७औं वर्षमा प्रवेश गरेको छ।
बैंकले वार्षिकोत्सवको अवसर पारेर परिमार्जित, परिष्कृत तथा प्रयोगकर्तामैत्री नयाँ आधिकारिक वेबसाइटको पनि औपचारिक शुभारम्भ गरेको छ। बैंकका अध्यक्ष हरि चन्द्र खड्काले डिजिटल प्रविधिमार्फत वेबसाइटको समुद्घाटन गरेका हुन् ।
उक्त वेबसाइट प्रकाशन पश्चात् बैंकले प्रदान गरिरहेको सेवा-सुविधाहरूको जानकारीमा सहज पहुँच, अनलाइनबाटै कर्जा आवेदन दिने व्यवस्था, भिडियो बैंकिङ मार्फत अनलाइनबाटै खाता खोल्ने, क्यूआर कोड लगायत विभिन्न बैंकिङ सेवाहरूको लागि अनलाइन निवेदन दिने सुविधा सम्बन्धित सबैलाई उपलब्ध हुने बैंकले जनाएकाे छ ।
वार्षिकोत्सवको अवसरमा बैंकले केन्द्रीय कार्यालय परिसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ, जसमा कर्मचारी, ग्राहक र अन्य सर्वसाधारण गरि जम्मा ५० जनाले रक्तदान गरेका छन्। विगत १० वर्ष तथा १५ वर्षदेखि बैंकमा कार्यरत रही योगदान दिएका २७ जना कर्मचारीहरूलाई सम्मानित गरेकाे छ ।
अध्यक्ष खड्काले बैंकको १६ वर्षको यात्रालाई सफल र फराकिलो बनाउन योगदान दिनेहरू लार्इ कृतज्ञता ज्ञापन गर्दै अबको यात्रामा पनि सोहि अनुरुपको सहयोग प्रदान गर्न आह्वान गरे । उनले बैंक सामाजिक समृद्धिको साथै कर्मचारी विकासको लागि अनवरत रुपमा सक्रिय रहेको र कर्मचारी दक्षता विकासका निम्ति विभिन्न वैदेशिक लगायतका तालिमहरुमा सहभागी भएको कुरालाई उजागर गरे । अध्यक्ष खड्काले आगामी दिनहरुमा पनि अझ गुणस्तरीय बैंकिङ सेवा दिंदै थप उत्कृष्ट सुविधाहरु प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले बैंक स्थापनाको परिकल्पना गर्ने संस्थापक सञ्चालकहरू, पूर्व अध्यक्षहरु, कर्मचारी, शेयरधनी र ग्राहक वर्गहरुलाई आभार व्यक्त गरे । ढकालले बैंकका विभिन्न कार्यक्रम उपलब्धि र संस्थागत सामाजिक उत्तरदायित्वमा प्रकाश पार्दै बैंकले बोकेको उद्देश्य र ध्येय प्राप्तिमा थप सशक्त हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले बैंकमा संस्थागत शुसाशन तथा कार्यसम्पादन क्षमता अनुरूप कर्मचारीलाई प्रोत्साहन गर्दै बैंकलाई “पर्फ़मर्स प्याराडाइज” बनाउन सोही अनुरूप संस्थागत संस्कृति विकास गर्न सक्रिय रही आएको बताए।
ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्