निर्माण उद्योग परिषद्ले भन्योः मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउने ढोका खुल्यो


काठमाडौँ। नेपाल निर्माण उद्योग परिषद्ले मौद्रिक नीतिले देशको अर्थतन्त्र चलायमान बनाउने ढोकाहरु खोलेको बताएको छ ।

शुक्रवार नेपाल राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिका बारेमा परिषद्को धारणा सार्वजनिक गर्दै परिषद्का महासचिव रामशरण देउजाले मौद्रिक नीतिले पार्ने प्रभाव र सम्बोधन सकारात्मक हुनेमा आफूहरु विश्वस्त रहेको बताए।

महासचिव देउजाले संकटको डिलमा पुगिसकेको परिस्थिति गहन अध्ययन गरेर मौद्रिक नीति आएको बताए। उनले विदेशी ऋणहरु क्रमशः घट्दै गएको परिस्थितिमा आन्तरिक श्रोतलाई कसरी व्यवस्थित गर्ने भन्नेकुरामा राष्ट्र बैंक गम्भीर रहेको पाएको पनि बताए।

बजारमा पैसा पु¥याउने सरकारको पहिलो माध्यम निर्माण क्षेत्र रहेको भन्दै महासचिव देउजाले पैसा बजारमा जान बन्द भएको अवस्थामा अहिलेको अवस्थालाई बुझेर समस्या समाधान गर्नेगरी मौद्रिक नीति आएको बताए। उनले मौद्रिक नीतिले व्यवसायीहरु बाहिर निस्किने वातावरण सिर्जना गरेको उल्लेख गरे।

उनले भने, ‘विगत तीन÷चार वर्षको कोभिड पछिको राम्रो मौद्रिक नीति आएको छ । यसले धेरै ढोकाहरु खोलेको छ । नेपाल सरकारको बजारमा पैसा पु¥याउने पहिलो माध्यम निर्माण क्षेत्र हो । यो अवस्था बन्द रहेको थियो । अब विभिन्न क्षेत्रमा सहजता प्रदान गरेको कारणले अब व्यवसायीहरु बाहिर निस्किने वातावरण सिर्जना गरेको छ । मौद्रिक नीति राम्रो आयो ।”

उनले निजी क्षेत्रलाई अघि जाने, सुचारु हुने अवस्था सिर्जना गरेको यो मौद्रिक नीतिले एउटा बिरामीलाई जसरी भेन्टिलेटर उपलब्ध भएपछि आफ्नो रोग रिकभर गर्दै जान लागेको प्रकृतिको अवसर दिएको बताए ।

देउजाले भने, “सबै समस्या समाधान भएका होइनन्, अरु थुप्रै समस्या छन् । भुक्तानीकै समस्या छ । भुक्तानी भन्दा पनि पहिलो प्राथमिकता दिनुपर्ने क्षेत्र यो थियो । किनभने हामी बाहिर निस्किएर हिँड्नसक्ने परिस्थिति पनि थिएन । यति ठूलो संकट निर्माण क्षेत्रमा अहिलेसम्म आएको थिएन ।”

उनले मौद्रिक नीतिले निर्माण व्यवसायीहरुले उठाएका धेरै मागहरु सम्बोधन गरेको बताउनु भयो । राष्ट्र बैंकबाट जारी हुने निर्देशिकाहरुमा चनाखो हुनुपर्ने आवश्यकता रहेको बताउँदै यस्तै निर्देशिका आए निर्माण क्षेत्रमा भएको संकुचन फुक्ने बताए।

—न्युज एजेन्सी नेपाल