सहकारी संस्थाको उचित नियमन गर्न सरोकारवालाको जोड


काठमाडाैँ ।सहकारी संस्थाहरूको उचित नियमन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।आइतवार सिंहदरबारमा बसेको सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिमा नियमन नगरे सहकारी बन्द गर्नुपर्ने अवस्था आउनसक्ने सरोकारवालाले बताएका हुन् ।

छलफलबारे जानकारी दिँदै सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले सहकारी संस्थाहरुको आवश्यक नियमन नहुँदा सहकारीमा वचत दुरुपयोग भएको सरोकारवाला निकायहरूले बताएको जानकारी गराए ।

बैठकमा सहकारी क्षेत्रको लेखापरीक्षणको क्रममा देखिएका समस्या, वचत दुरुपयोग र ठगीको बारेमा लेखापरीक्षण र लेखापरीक्षकको भुमिकाका बारेमा कानूनी प्रवन्ध र गर्नुपर्ने सुधारको विषयमा छलफल भएको संयोजक थापाले बताए ।सहकारीको चार्टर्ड एकाउन्टेन्टले लेखापरीक्षण गर्ने तर हस्ताक्षर रजिस्टर्ड लेखापरीक्षकले गर्दा हस्ताक्षरकर्तालाई लेखापरीक्षणको अवस्था थाहा नहुने र लेखापरीक्षण गर्नेको हस्ताक्षर नहुने बेथिति अन्त्य गर्न पनि जोड दिइएको बताए ।

उनले सहकारी क्षेत्रमा रहेका विद्यमान समस्या समाधानका लागि सहकारी संस्था, शेयर सदस्य, पदाधिकारी, व्यवस्थापक, लेखा परीक्षकले विशेष ध्यान दिनुपर्ने बताए ।

आजको बैठकमा नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाका अध्यक्ष प्रविणकुमार झा, पूर्वअध्यक्ष युद्धराज ओली, उपाध्यक्ष निलबहादुर सारू, प्राविधिक निर्देशक किरणकुमार खत्री, एक्यान अध्यक्ष अरूण राउत,चार्टर्ड एकाउन्टेण्टहरुसँग छलफल गरेको थियो ।