सरकार निजी क्षेत्रको आत्मविश्वास र मनोबल बढाउन काम गरिरहेको छः अर्थमन्त्री पौडेल


काठमाडाैँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले निजी क्षेत्रको आत्मविश्वास र मनोबल बढाउने उद्देश्यमा काम गरिरहेको बताएका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा नेपाल घरेलु तथा साना उद्योग व्यवसायी महासंघको प्रतिनिधिहरुसँगको भेटवार्ताका क्रममा उनले सरकार निजी क्षेत्रको आत्मविश्वास र मनोबल बढाउने उद्देश्यसाथ काम गरिरहेको बताए ।

उनले सरकारको ध्यान सबैलाई उत्साहकासाथ आफ्नो पेशा, व्यवसाय र उत्पादनमा लाग्नसक्ने परिस्थिति निर्माण गर्नुमा रहेको उल्लेख गरे ।

साना तथा घरेलु उद्योगमा रोजगारीको ठूलो संख्या रहेको तथा स्वरोजगारीको महत्वपूर्ण माध्यम बनेको भन्दै यसको प्रवद्र्धन गर्ने सरकारको नीति रहेको उनले बताए। उनले यसको निम्ति कानून, नियम, निर्देशिका तथा निर्णयहरुमा ध्यान दिनुपर्ने कुराहरुमा ध्यान दिने प्रतिवद्धता व्यक्त गरे ।

उनले घरेलु तथा साना उद्योग व्यवसायीहरुले ऐन, कानूनमा सुधार गर्न चाहेको बुँदाहरुको सम्बन्धमा लिखित रुपमा सुझाव दिन पनि आग्रह गरे ।