मुलुकमा सदाचारका लागि आवश्यक कानुन ल्याउन सरकार प्रतिबद्ध छ: मन्त्री चौरसिया


काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सदाचार नीतिका लागि आवश्यक कानुन ल्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

मंगलबार संघीय संसद्, राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।

मन्त्री चौरसियाले मुलुकमा नैतिक मूल्य र मान्यतालाई स्थापित गराउन आफू जस्तोसुकै कडा कानुन बनाउन पनि तयार रहेको स्पष्ट पारे । राष्ट्र निर्माणका लागि सबभन्दा आवश्यक तत्त्व सदाचार नीति भएको उल्लेख गर्दै उनले त्यसलाई अघि बढाउने गरी बहसको सुरुवात गर्न पनि सांसदहरूलाई आग्रह गरे ।

उनले भ्रष्ट र ठगहरूलाई बल दिने गलत अभ्यासको अन्त्य हुनेगरी विद्यालय तहको पाठ्यक्रममा नै नैतिक शिक्षाको पठनपाठन हुने व्यवस्था फेरि गर्नुपर्ने आवश्यकता औँल्याए ।

मन्त्री चौरसियाले भने, “सदाचार नीतिलाई कानुनको रूपमा अघि बढाउने माननीयजीहरूको विचार आएको छ । त्यसप्रति म व्यक्तिगत रूपमा पनि र कानुन मन्त्रालयको मन्त्रीको रूपमा पनि प्रतिबद्ध छु । यसमा यहाँहरूले सिफारिस गर्नुस् । राजनीतिक पार्टीको बिचमा सहमति भयो भने जस्तोसुकै कडा कानुन बनाउन पनि म तयार छु ।”

यता सांसदहरूले पनि मुलुकमा सुशासन ल्याउनका लागि कडा कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका थिए । सत्तारुढ नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद पौडेलले सुशासन ल्याउने कुरामा सम्पूर्ण समय खर्च गर्न मन्त्रीलाई सुझाव समेत दिए । उनले मुलुकमा धेरै निराशा बढ्नुको पछाडि सुशासन नहुनु रहेको औँल्याउँदै त्यसलाई चिरेर सरकार अघि बढ्नुपर्ने बताए ।

सांसद डा अञ्जान शाक्यले जनताप्रति उत्तरदायी हुने सदाचारका बारे विद्यालय र विश्वविद्यालय तहमा पनि अध्ययन, अध्यापनको काम हुनुपर्ने बताइन् । उनले मुलुकमा सदाचार स्थापित गराउन सांसदहरूले पनि विशेष अभियान सञ्चालन गर्नुपर्ने बताइन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले जनताप्रति उत्तरदायी नहुनेहरूलाई कडा कारबाही हुनेगरी सरकारले कानुनी व्यवस्था गर्नुपर्ने बताए । उनले सदाचार नीति बनाउनु अघि राष्ट्रव्यापी रूपमा बहस सुरु गर्नुपर्ने आवश्यकता पनि औँल्याए ।

सांसद सुवेदीले विज्ञ र सरोकारवालाहरूसँग व्यापक छलफल गरेर मात्रै सदाचार नीति ल्याउन पनि सरकारको ध्यानाकर्षण गराए ।