काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कन्सल्टेन्सीहरूको नाममा गैरकानूनी रूपमा नेपालीहरूलाई विदेश पठाउने काम भइरहेको भन्दै यसबारेमा सरकारले अनुसन्धान गरिरहेको बताएका छन् ।
शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री भण्डारीले शैक्षिक परामर्श केन्द्रको नाममा नेपालीहरूलाई विदेश पठाइएको भन्दै यस बारेमा सरकारले अनुसन्धान गरिरहेको बताएका हुन् ।
उनले एउटै व्यक्तिले म्यानपावर कम्पनी र कन्सल्टेन्सी खोल्ने गरेको र म्यानपावरबाट नभई कन्सल्टेन्सीबाट विदेश पठाउने गरेको भन्दै यसप्रकारको काम गर्नेलाई कारबाही गरिने बताए । यो विषय सरकारको मात्रै विषय नभएकोले व्यवसायीहरूलाई पनि आफूले ध्यानाकर्षण गराएको उनले बताए । उनले म्यानपावर कम्पनी खोलेर दुई वर्षसम्म एकजना मान्छे नपठाउने कम्पनीहरुले आशंका जन्माएको पनि उनले बताए।
उनले मन्त्रिपरिषद्को बिहीबारको बैठकले आर्थिक वर्ष २०७९\८० र २०८०\८१ गरी लगातार दुई वर्षसम्म वार्षिक १०० जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन नसकेका इजाजतप्राप्त संस्थाको इजाजतपत्र आर्थिक वर्ष २०८१\०८२ का लागि नविकरण गर्न दिनेगरी बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने निर्णय गरेको बताए ।
उनले नविकरण भएका म्यानपावर कम्पनीहरू नियमित, अनियमित कुन अवस्थामा छन् सो को मन्त्रालयले अध्ययन गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्