कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै १० युवाद्वारा आमरण अनशन सुरू


काठमाडाैँ । धनुषा र सिरहा जिल्लालाई जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै स्थानीयहरूले सामुहिक आमरण अनशन सुरू गरेका छन् ।

कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै नयाँ कमला पुल निर्माण संघर्ष समिति सिरहा–धनुषाको अगुवाईमा आन्दोलित स्थानीयहरु जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय अगाडी आमरण अनशन बसेका हुन् ।गत साता मात्रै मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहलाई नयाँ पुल निर्माणका लागि प्रक्रिया अगाडी बढाउने गरी ७ दिने अल्टिमेटमसहित उनीहरूले ज्ञापन पत्र बुझाएका थिए । तर मुख्यमन्त्रीले आफूहरूको मागप्रति बेवास्ता गरेपछि आमरण अनसनमा बसेको संघर्ष समितिका संयोजक प्रविण यादवले जानकारी दिए ।

आफू पनि अनसनमा बसेको बताए। उनीसँगै १० जना युवा आमरण अनसनमा बसेका हुन् । सिरहाको औरही वडा नम्बर ४ का वडाध्यक्ष सुरेन्द्रकुमार यादव, सिरहा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष समशाद आलम, सिरहा ६ का वडाध्यक्ष इन्द्रजति यादव, सिरहा ८ का वडा सदस्य रुपेश यादव, सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र साह, शैलेशकुमार गोइत, मनिष यादव र शिवशंकर यादव आमरण अनशनमा बसेका छन् ।

“मुख्यमन्त्रीलाई गत साता नयाँ पुल निर्माणका लागि संघ सरकारसँग पहल गर्न भनेका थियौँ, तर त्यहाँबाट एक फोन कलसम्म नआएको र प्रदेश सरकारले कुनै गम्भिरता देखाएको छैन,”उनले भने ।

यता मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारले कमला पुल निर्माणका लागि प्रदेश सरकार आफैँ गम्भिर रहेको समयमा युवाहरू आमरण अनशनमा बस्नुको औचित्य नरहेको प्रतिक्रिया दिए । प्रदेश सरकार आफैँ कमला पुल निर्माणका लागि पहल द्रुत गतिमा गइरहँदा समेत सिधै आएर आमरण अनशनमा बस्नु स्टन्ट भएको आरोप लगाए ।

मधेस सरकारको गत साउन ३१ गते बसेको मन्त्रीपरिषद बैठकबाट हुलाकी राजमार्ग अन्तर्गत पर्ने नयाँ कमला पुल निर्माणका लागि माग गर्ने निर्णय समेत गरिएको बताए । उनले संघ सरकारले कमलामा पुल निर्माण नगरे प्रदेश सरकार आफैँ त्यहाँ बजेट छुट्याएर पुल निर्माण गर्न सक्छ कि सक्दैन भन्ने विषयमा समेत छलफल अगाडी बढाइएको बताए ।