दुईमहिना‘होल्ड’पछि आन्तरिक राजस्व विभागको महानिर्देशकमा भीष्म,भन्सारमा दाेस्राे पटक यमलाल



काठमाडौँ । आन्तरिक राजस्व विभाग र भन्सार विभागमा महानिर्देशक नियुक्त भएका छन् ।

अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागको महानिर्देशकमा डा. भीष्मकुमार भुसाल र भन्सार विभागको महानिर्देशकमा यमलाल भुसाल नियुक्त गरेकाे हाे ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका दुबै सहसचिवलाई अर्थ मन्त्रालय भित्राएर साेमबार महानिर्देशकको जिम्मेवारी दिइएको छ ।

झण्डै दुइमहिना ‘होल्ड’ गरेर आन्तरिक राजस्व विभागमा प्रधानमन्त्री वालेन्द्र शाहको रोजाइका भीष्मलाई महानिर्देशक बनाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शासकीय सुधार महाशाखा प्रमुख रहेर प्रधानमन्त्री बालेन्द्र शाहको टिमलाई नीति निर्माण तथा कानुनी रूपमा सघाइरहेका भीष्मलाई अर्थ मन्त्रालय भित्राएर आन्तरिक राजस्व विभागमा पठाइएको हो ।

योबिचमा अन्तराष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाको चासो देखाएका भीष्मलाई अर्थभित्रैको नेतृत्वले रोकेको थियो ।

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भने बाबुराम गौतम पठाउन चाहेका थिए । गौतम ठुला करदाता कार्यालयको प्रमुख भएर पनि काम गरिसकेका अनुभवि थिए । गौतमलाई भने अर्थ मन्त्रालय भित्राइएन ।

बागमती प्रदेशमा रहेका गौतमलाई यसअघि नै भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत सरुवा गरिएको थियो ।

२०६२/६३ का राजस्व अधिकृत भीष्म २०६६/६७ बाट खुल्लाबाट उपसचिव भएका थिए ।

लगत्तै जापान पढ्न गएका थिए । फर्केर आएपछि सहसचिव भएका भुसाल राजस्व क्षेत्रको नेतृत्वमा भने कम अनुभवी मानिन्छन् ।

२०५९ का राजस्व अधिकृत यमलाल भुसालले भने भन्सारमा दोस्रोपटक नेतृत्व पाएका हुन् । जनार्दन शर्मा अर्थमन्त्री भएका बेला यमलाल भन्सार विभागको महानिर्देशक बनेका थिए ।

उनको कार्यकालमा भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०२१–२०२६) को तर्जुमा गरिएको थियो ।

दुबै विभागका निमित्त निर्देशकलाई भने अर्थ मन्त्रालयबाट बाहिर पठाइएको छ । यस्तै भन्सार विभागको उपमहानिर्देशकमा प्रेमप्रसाद आचार्य नियुक्त भएका छन् ।