बागमती प्रदेश सरकारबाट निर्माण व्यवसायीहरुले पाउनुपर्ने भुक्तानी बाँकी रोक्दैनौंः मुख्यमन्त्री लामा


काठमाडाैँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले वागमती प्रदेश सरकारले निर्माण व्यवसायीहरुले भुक्तानी पाएनौं भन्ने अवस्था बन्न नदिने प्रतिवद्धता जनाएका छन् ।

काठमाडौंमा नेपाल निर्माण व्यवसायी महासंघले राखेको बधाई तथा शुभकामना कायक्रममा मुख्यमन्त्री लामाले निर्माण व्यवसायीहरुले वागमती प्रदेश सरकारबाट निर्माण व्यवसायीहरुको भुक्तानी पाइएन भन्ने वातावरण नबनाउने गरी काम गर्ने बताए ।

उनले निर्माण व्यवसायीहरुले बागमती प्रदेशमा निर्माण सम्पन्न गरेका आयोजनाको एक हप्ताभित्र सबै भुक्तानी दिने उल्लेख गरे । निर्माण व्यवसायीहरुलाई भुक्तानी नदिएर पूर्वाधार निर्माणको काम भएन भन्न नमिल्ने उनकाे भनाइ छ ।

निर्माण व्यवसायीहरुको भुक्तानी दिएर काम अगाडि बढाउने पहिलो प्रथमिकतामा राख्ने निर्माण व्यवसायीहरुसँग उनले प्रतिवद्धता जनाए । उनले बागमती प्रदेशले बनाउने निर्माण सम्बन्धि ऐनहरु र निर्माण व्यवासायीलाई अफ्ठ्यारा अवस्थालाई सहजिकरण गरिने बताए ।

मुख्यमन्त्री लामाले रोजगारी सिर्जना गर्नको लागि उद्योगधन्दा खुल्नुपर्ने बताएका छन् । सरकारले मात्रै निर्माण व्यवसायीहरुलाई सहजिकरण गरेसँगै व्यवसायीहरुले पनि कमजोरीहरुलाई सुधार गर्न आवश्यक रहेको बताए ।

उनले निर्माण क्षेत्रमा सरकारका नीतिगत व्यवस्थाहरुमा अफ्ठ्याराहरु रहेको भन्दै त्यसलाई सुधार गर्दै लैजाने उल्लेख गरे । सरकारले कानून बनाउँदा व्यक्ति लक्षित गरेर नभई निर्माण व्यवसायीमैत्री र दीर्घकालिन सोचका साथ बनाउनुपर्ने आवश्यकता रहेको उनकाे भनाइ छ। 

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले वागमती प्रदेश सरकारले निर्माण व्यवसायीलाई परेका अफ्ठ्यारो अवस्थालाई सहजिकरण गर्ने विश्वास रहेको बताए । निमाण व्यवसायीहरुले वागमती प्रदेश सरकारले व्यवसायीमैत्री नीतिहरु बनाउँदै भुक्तानीको समस्या सहजिकरण गर्न माग गरेका थिए ।