मुलुकको पहिचान झल्किने गरी विकासशील राष्ट्रमा स्तरोन्नति हुँदैछौँः उद्योगमन्त्री भण्डारी


काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दुई वर्षभित्र मुलुकको पहिचान झल्किने गरी अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने बताएका छन् ।

मंगलवार राष्ट्रिय सभा अन्तर्गतको विकास,आर्थिक मामिला तथा सुशासन समिति बैठकमा उनले मुलुकको उद्योग, व्यापार, वैदेशिक अनुदान, रोजगारी सिर्जना र अन्य नीतिहरुमा समेत काम गरिरहेको बताए ।

मन्त्री भण्डारीले मन्त्रालयले वाणिज्य क्षेत्रका अहिलेका व्यापार नीतिहरुमा कुटनीतिक पहल गर्ने काम गरिरहेको उल्लेख गरे । सरकारले दुई वर्षभित्र मुलुकको पहिचान झल्किने गरी प्राथमिकताका साथ तयारीका गरी विकासशिल राष्ट्रको सूचिमा सुचिकृत हुने तयारी गरेको उनले बताए ।

मन्त्री भण्डारीले भूपरिवेष्ठित, वाणिज्य नीति,अन्तरदेशीय सम्झौता लगायतका समस्याका विषयमा विमस्टेकमा पनि स्पष्ट रुपमा धारणा राखेको उल्लेख गरे ।

उनले नेपाल अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा स्तरउन्नतिले पार्ने चुनौति र असरका दुवै रहेको बताए । मुलुकको अर्थतन्त्रमा १३ प्रतिशत योगदान गरेको उद्योग क्षेत्र अहिले खुम्चिएर ४ देखि ५ प्रतिशतको आसपासमा पुगेको उनले उल्लेख गरे ।

उनले त्यसको लागि अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान बढाउन आवश्यक रहेको भन्दै त्यसको लागि लगानीमैत्री नीति बनाउनुपर्ने धारणा राखे । मुलुकको उत्पादन र उत्पादकत्व घटेको भन्दै सरकारले सबैभन्दा पहिलो प्राथमिकता उत्पादन र उत्पादकत्व वृद्धि गर्ने रहेको उनकाे भनाइ छ । 

उनले सरकारले दुई वटा क्षेत्रहरु कृषिमा आधारित उद्योगलाई प्रोत्साहन र उद्योगको योगदान जीडिपीमा बढाउनुपर्ने आवश्यकता देखिएको बताए । मुलुकको व्यापार असन्तुलन सन्तलुन कायम हुनसक्ने गरी सामना गरिरहेको उनले धारणा राखे ।