पाकिस्तानका लागि प्रस्तावित राजदुत धिताल भनिन्: सार्कलाई क्रियाशील बनाउन पहल गर्नेछु


काठमाडाैँ ।पाकिस्तानका लागि प्रस्तावित राजदुत रिता धितालले दक्षिण एशीयाली क्षेत्रीय सहयोग संगठन (सार्क) सम्मेलन आयोजनाका लागि आफूले काम गर्ने बताएकी छन् ।

सन् २०१६ देखि नेपाल अध्यक्ष राष्ट्र रहेको सो सम्मेलन स्थगित हुँदै आएको र त्यसलाई सुचारु गराउने नेपाल सरकारका धारणा अनुसार आफूले त्यसमा पहलकदमी लिने उनको योजना छ । सोमवार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै पाकिस्तानका लागि प्रस्तावित राजदुत धितालले सार्कलाई क्रियाशील बनाउने बारेमा सरकार प्रष्ट भएकाले उल्लेख गर्दै आफूले सोही अनुसार काम गर्ने बताइन् ।

उनले सार्कको क्षेत्रीय राष्ट्रहरुबीचको आर्थिक, सामाजिक, सांस्कृतिक र वैज्ञानिक क्षेत्रको विकासमा महत्व रहेको कुरालाई सम्बन्धित राष्ट्रहरूले स्विकार गरेकाले यसलाई चलायमान बनाएर लैजान जोड दिनुपर्ने बताइन् ।

“सार्क सम्मेलनका लागि नेपालको धारणा सार्क सम्मेलन २०१६ देखि स्थगन भएको छ । र नेपाल सरकारको यसमा धारणा भनेको सार्कलाई चलायमान बनाउने नै हो । र राजदुतको रुपमा मेरो पनि पहल त्यही नै रहनेछ । सार्कका धेरै संस्थाहरु सृजना भएका छन । यसमा गर्न सकिने सहयोगका क्षेत्रहरु आर्थिक, सामाजिक, सांस्कृतिक, वैज्ञानिक क्षेत्रमा हामीले सहयोग अघि बढाउन सक्ने प्रशस्त सम्भावना देखेर नै यो संस्था बनाइएको हो,”उनले भनिन्।

प्रस्तावित राजदुत धितालले नेपालको क्रिकेट खेलको विकासमा पाकिस्तानको सहयोगका लागि पनि आफूले सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।