यसपटककाे दसैँमा पाँच र पचास रुपैयाँको नोट अभाव हुने


काठमाडौं । यसपटककाे दसैँ, तिहार र छठमा पाँच रुपैयाँ र पचास रुपैयाँको नोट अभाव हुने भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार यसपालीको दसैँमा ५ रुपैयाँ र पचास रुपैयाँका नोटहरू कम रहेको हुनाले अभाव हुने राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. भागवत आचार्य बताए ।

उनि भन्छन्, ”पाँच र पचास रुपैयाँका नोटहरू चाहिएजति उपलब्ध हुँदैन । अति नै थोरै मात्रामा माैज्दात रहेको हुनाले अभाव हुने भएकाे छ ।“

उनका अनुसार दसैँका लागि पाँच र पचास रुपैयाँ बाहेकका नोटबाहेक पर्याप्त मात्रामा उपलब्ध हुने उनकाे भनाइ छ ।

दसैँ, तिहार र छठ जस्ता ठुला पर्वहरू नजिकिँदै गर्दा नयाँ नोटको विषयमा सर्वसाधारणको चासो देखिने गरेको छ । विषेश गरी घटस्थापना अगाडिदेखि नै दसैका लागि नयाँ नोट साट्न सर्वसाधारणको घुइँचो नै लाग्ने गर्दछ । सूचना अधिकारी आचार्यका अनुसार राष्ट्र बैंकले दसैँ नै लक्षित गरेर नयाँ नोटहरू छाप्ने गरेको छैन ।

सूचना अधिकारी आचार्य भन्छन्, “दसैँका लागि भनेर नयाँ नोटहरू छाप्ने गरिएको छैन, बैंकसँग मौज्दातमा रहेका नोटहरू माग अनुसार बजारमा पठाउने गरिएको छ ।”

राष्ट्र बैंकले यसपालीको दसैँमा पनि पहिलाको जस्तै मौज्दातमा रहेका सुकिला नोटहरू वितरण गर्नेे आचार्यले बताए ।
उनले भने “यसपालीको दसैँ तिहार छठमा पनि मौज्दातमा रहेका सुकिला नोट नै वितरण गर्ने हो । दसैँलाई नै लक्षित गरेर नोट छपाई गर्ने भन्ने हुँदैन मलाई जानकारी भएसम्म गरिएको छैन ।”

“सामान्यतया एक वर्षमा कति नोट बाहिर जान्छ भन्ने कुरा अनुभवले थाहा हुन्छ.” सूचना अधिकारी आचार्य भन्छन्, “त्यसकै आधारमा हामीले एक पटकमा साढे तिन वर्षलाई पुग्ने अनुमान गरी अन्तर्राष्ट्रिय बोलपत्र आव्हान गरेर नोट छाप्ने गरिन्छ ।
अधिकारीका अनुसार यसरी छापेको नोटहरु स्टकमा राखेर आवश्यकता अनुसार बजारमा पठाउने गरिन्छ ।”

अभाव रहेको पाँच र पचास रुपैयाँका नोटको छपाई प्रक्रिया दसैँ तिहार पछाडी मात्रै अगाडी बढ्ने आचार्यले बताए ।