काठमाडौँ । उपत्यकाको फोहरमैला व्यवस्थापन हुँदै आएको सेनेटरी ल्याण्डफिल साइटको निगरानी काठमाडौँ प्लाजाबाट सुरू भएको छ । फोहर व्यवस्थापन हुने गरेको ल्याण्डफिल साइट नुवाकोट र धादिङ जिल्लाको सिमाना बञ्चरेडाँडामा छ । संस्थागत सुधारको कार्यक्रममध्ये कार्य सञ्चालन हुने ठाउँका विषयमा जानकारी तथा सूचना लिन सीसीटीभी क्यामरा जडान गरिएको हो ।
साइटमा प्रवेश गर्ने सवारी साधन तथा व्यक्ति प्रवेशसहितका क्रियाकलापमा निगरानी गरेर सम्भावित अनधिकृत क्रियाकलाप रोक्न प्रणाली जडान गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले स्वचालित प्रणाली बढाएर संस्थागत सुदृढीकरण गर्ने क्रममा ल्याण्डफिल साइटमा अत्याधुनिक सिसिटिभी क्यामरा जडान गरिएको जानकारी दिए ।
क्यामराबाट प्राप्त दृश्यहरू प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाट निगरानी हुनेछ । यससँगै वातावरण व्यवस्थापन विभागमा पनि दृश्य हेर्न सकिने बनाइएको महानगरले जनाएकाे छ ।
साइट व्यवस्थापनको काममा खटिएका जनशक्ति, कार्यालय, साइटमा पुग्ने सडक, सुरक्षा वुथ देखिने गरी क्यामरा राखिएका छन् । वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राई भन्छिन्, “९ वटा क्यामराका दृश्यबाट साइटको निगरानी हुन्छ ।”
पछिल्लो समयमा जडान गरिएका क्यामरा अटोमेटिक नम्बर प्लेट रिकोग्निजेसन (एएनपिआर) क्यामरा हुन् । सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपाल भन्छन्, “यसबाट भिडियोको आवाज पनि सुन्न सकिन्छ । यसले डिजिटल मात्र होइन, हातैले लेखेका नम्बर प्लेट पनि पढ्न सक्छ । नेपाली अक्षरबाट लेखिएको नम्बर प्लेट पनि पढ्न र रेकर्ड राख्न सक्छ ।”
प्रतिक्रिया दिनुहोस्