सहकारी छानविन समितिसँग प्रधानमन्त्रीको आग्रहः अनुहार होइन, व्यवहार हेरेर निस्कर्ष निकाल्नुस्


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको रकम अपचलन गर्नेहरूको अनुहार नभइ व्यवहार हेरेर कारबाही गर्न संसदीय समितिसँग आग्रह गरेका छन् ।

शनिवार सिंहदरबारमा सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको बैठकमा बोल्दै उनले समितिसँग कोही निर्दोषमाथि कुनै प्रकारको औंलो नठडिने र दोषी उम्किन नदिने गरी समितिको निस्कर्ष बनाउन आग्रह गरेका हुन् ।

उनले सहकारी पौडी खेल्ने नभइ धेरै खेले स्वीमिङ पुलसम्म पौडी खेल्न सक्ने टिप्पणी गरे । उनले सहकारीका माध्यमबाट अनेक तरिकामार्फत गरिएको शोषण,लुट, ठगीहरुलाई नियन्त्रण गर्न नदिनका लागि सरकारले पनि काम गरिरहेको बताए । उनले समितिले दिएका सुझावहरुको कार्यान्वयन गर्न सरकार तयार रहेको बताए । सरकारले आवश्यक ऐन बनाउनुपर्ने ठाउँमा ऐन बनाएर, ऐनलाई नियममा परिणत गर्नुपर्दा नियम बनाएर, नियमन गरेर बदुमासी हुन नदिने स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले सहकारी क्षेत्रका समस्या समाधान गर्न उपायहरु समेत समितिले सरकारलाई दिनुपर्ने बताए । उनले समितिलाई सरकारले निर्देशन दिने भन्दा पनि समितिले सरकारलाई निर्देशन दिनुपर्ने बताए । सहकारी कसैप्रति उत्तरदायी हुनु नपर्ने र एक दुई जनाको गरिखाने, ठगी खाने भाँडो हुनु नहुने बताए ।

“हामी सहकारी क्षेत्रका समस्या समाधान गर्न सम्भव, व्यवहारिक केके हुनसक्छन्, ति सुझाव आउन् । यहाँहरुका सुझाव आउन्, त्यो सुझाव हामी कार्यान्वयन गर्छौं । हामीले समितिलाई कुनै निर्देश दिन भन्ने हुँदैन, समितिले सरकारलाई निर्देश गरोस् । निर्देश समितिले गर्ने हो । छानविनका निस्कर्षबाट यो देखियो, यो ठाउँमा अनुगमन गर्नुपर्छ, यि शर्तका साथ सहकारी खोल्नुपर्छ । सहकारी कसैप्रति उत्तरदायी हुनु नपर्ने र एक दुई जनाको गरिखाने, ठगी खाने भाँडो हुनु भएन । यस समस्याको समाधान हुनुपर्छ भनेर सरकार लागेको । हामी यहाँहरुको रिपोर्ट, सुझावको प्रतिक्षामा छाैँ,” उनले भने ।

प्रधानमन्त्री ओलीले सहकारीको समस्या भयानक राष्ट्रिय समस्याका रुपमा आएको भन्दै समितिको प्रतिवेदनको प्रतिक्षामा सरकार रहेको बताए । उनले अहिलेकै राज्य संयन्त्रबाट छानविन, निराकरण, कारबाही गर्ने की अर्को संयन्त्र बनाउने भन्नेबारेमा पनि समिति स्पष्ट हुनुपर्ने बताए ।