शेयर कारोबारबाट दुई महिनामै गत वर्षको वर्षदिनको भन्दा बढी राजश्व उठेको छः अर्थमन्त्री पौडेल


काठमाडाैँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको दुई महिनामै गत वर्षको वर्षदिनको भन्दा बढी राजश्व शेयर कारोबारबाट संकलन गरेको दाबी गरेका छन् ।

बुधवार नेप्से कार्यालयमा पुग्नुभएका अर्थमन्त्री पौडेलले गत आर्थिक वर्षभर शेयर कारोबारबाट ५ अर्बको हाराहारीमा राजश्व संकलन भएको तर यस वर्षको दुई महिनामै करिव पौने सात अर्ब बराबरको राजश्व संकलन गर्न सरकार सफल भएको दाबी गरे ।

उनले चालु आर्थिक वर्ष ०८१/८२ मा शेयरबजारबाट साउनमा ४ अर्ब २३ करोड र भदौ महिनामा दुई अर्ब ५७ करोड राजश्व संकलन भएको बताए ।

उनले ३ हजार ४० मा पुगेको नेप्से एकाएक २५ सयमा कसरी झ¥यो ? भन्दै प्रश्न गरे । आफूले सो कुराको सही जवाफ नपाएसम्म स्वयं र कर्मचारीहरुलाई सोधिरहने उनले बताए ।

नेपालको पुँजी बजार र पुँजी बजारको सम्भावना, यसले भोगिरहेका समस्या, समाधानका उपायका विषयमा संस्थागत संरचनाहरु भित्र पनि, सम्बन्धित संस्थाहरुभित्र पनि र सार्वजनिक रुपमा पनि काफी छलफल, बहस हुने गरेको उनकाे भनाइ छ ।

राजनीतिक रुपले अहिले पुँजी बजार नघटेको भन्दै पुँजी बजार बढाउन आवश्यक कदमहरु चाल्न सरकार तयार रहेको उनले बताए ।

उपप्रधानमन्त्री पौडेलले प्रविधिबारे अपडेट हुन टाइम बाउण्ड क्यालेण्डर बनाइ काम गर्न पनि सम्बन्धित सरोकारवाला निकायहरुलाई निर्देशन दिए ।

उनले जनशक्ति व्यवस्थापनको योजना बनाउन, गुणस्तरीय सेवा प्रवाहमा जोड दिन पनि निर्देशन दिए । नेप्सेले लगानीकर्ताको विश्वास जित्ने, लगानीकर्ताको लगानी सुरक्षित गर्ने र स्वस्थ प्रतिष्पर्धालाई प्रवद्र्धन गर्न जोड दिएका छन्।

पुँजी बजारका समस्या पहिचान गरी शिघ्र समाधानमा लाग्नुपर्ने उनले बताए । सरकारले पुँजी बजारको दिगो, भरपर्दो विकासका पक्षमा काम गरिरहेको उनकाे भनानइ छ।