दशैंका लागि असोज १२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरिने


काठमाडौं । दशैंतिहारका लागि असोज १२ गतेदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको बैठकले यातायात व्यवस्थता विभागसँग छलफल गरेर अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

स्रोतकाअनुसार बैठकले व्यवसायीका मागका विषयमा पनि छलफल गरेर सातबुँदे निर्णय लिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिवार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरेको हो ।

बैठकले सडक विभाग अन्तर्गतका सबै सडक घटस्थापनाअगावै मर्मतसम्भार गर्न निर्देशन गरेको छ । बिपी राजमार्ग सडक सुरक्षाका लागि साना सवारी मात्र सञ्चालन गर्न र रात्रि सवारी सञ्चालन रोक्न गृह मन्त्रालय र नेपाल प्रहरीलाई अनुरोध गर्ने र विभागले त्यसको अनुगमन गरी यातायात मन्त्रालयलाई रिपोर्ट गर्ने निर्णय पनि गरेको छ ।

यातायात मन्त्रालय र गृह मन्त्रालयमा छलफल भएको र अब एक(दुई दिनमा यातायात व्यवस्था विभागसँग बैठक गरेपछि अग्रिम टिकट खुला हुने महासंघका उपाध्यक्ष सरोज सिटौलाले बताए ।

उनका अनुसार सवारीसाधनको यान्त्रिक परीक्षण गरी गन्तव्यमा जान सहज व्यस्थापन गरिने भएको छ । वैज्ञानिक भाडा समायोजन विगत तीन वर्षदेखि नभएकाले छठ पर्वको एक हप्तापछि समायोजन गरिने निर्णय भएको हो ।