बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप खाताको संख्या ५ करोड हुँदा ऋण खाताको संख्या करिब १९ लाख


काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप खाता संख्या ५ करोड ६२ लाख हुँदा ऋण खाता करिब १९ लाख रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार साउन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुमा ५ करोड ६२ लाख ५५ हजार ३०५ निक्षेप खाता रहेको छ । कर्जा खाता संख्या भने १८ लाख ९९ हजार ४८३ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

वाणिज्य बैंकमा ४ करोड ८२ लाख ३४ हजार २१७, विकास बैंकमा ७१ लाख १९ हजार ४४३ र वित्त कम्पनीमा ९ लाख १ हजार ६४५ निक्षेप खाता रहेका छन् ।

यस्तै, वाणिज्य बैंकमा १५ लाख ७४ हजार ४१४, विकास बैंकमा २ लाख ८१ हजार ८१० र वित्त कम्पनीहरुमा ४३ हजार २५९ ऋण खाता रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ६ हजार ४८६ ओटा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन मसान्तसम्म क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ६ हजार ४८६ पुगेको हो ।

वाणिज्य बैंकको शाखा संख्या ५ हजार ६३ ओटा रहेको छ । विकास बैंकहरुको शाखा संख्या एक हजार १३५ र फाइनान्स कम्पनीहरुको शाखा संख्या २८८ रहेको छ ।