सञ्चार मन्त्रालयको नीतिहिनता र कानूनहिनताको अवस्था अन्त्य गर्न चाहन्छुः मन्त्री गुरुङ


काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूले सञ्चार मन्त्रालयको नीतिहिनता र कानूनहिनताको अवस्था अन्त्य गर्न चाहेको बताएका छन् ।

महेन्द्रकालीन ऐनको भरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय चलेकाले आफूले त्यस्तो अवस्था अन्त्य गर्नका लागि सामयिक नीति र कानून निर्माणको प्रक्रियालाई तिब्रता दिने कामलाई अघि बढाएको मन्त्री गुरुङको भनाई छ।

आइतबार राष्ट्रपति भवन शितल निवासमा आयोजित प्रेस काउन्सिल नेपालको ५५ औं वार्षिक प्रतिवेदन सार्वजनिक तथा पुरस्कार वितरण समारोहमा उनले सामाजिक सञ्जाललाई नियमन गर्ने विधेयकको मस्यौदा गरी मन्त्रीपरिषदका पेश गर्न लागिएको पनि बताए ।

सामाजिक सञ्जाल अत्यन्तै अनियन्त्रित ढंगले अघि बढेकाले त्यसको नियमन हुनेगरी सरकारले सो विधेयकको मस्यौदा तयार पारी मन्त्रीपरिषद्मा पेश गर्न लागेको सञ्चारमन्त्री गुरुङले स्पष्ट पारे ।

उनले मिडिया काउन्सिल विधेयक छलफलको क्रममा रहेको उल्लेख गर्दै त्यसलाई पनि संसदको आगामी हिउँदे अधिवेशनबाट पारित गराउने प्रतिवद्धता व्यक्त गरे । साईबर क्राईम सम्बन्धि विधेयकको मस्यौदा पनि तयार पारेर मन्त्रीपरिषदमा पेश गर्ने तयारीमा रहेको मन्त्री गुरुङले बताए ।