बढ्दै आयात, घट्दै निर्यात


काठमाडौँ । चालू आर्थिक वर्षको दुई महिनामा नेपालले कुल २ खर्ब ८७ अर्ब ६३ करोड ५७ लाख २८ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । यो गत आर्थिक वर्षको दुई महिनाको तुलनामा नेपालको वैदेशिक व्यापार ०.५० प्रतिशतले वृद्धि भएको हो ।

गत आर्थिक वर्षको यहि अवधिमा नेपालले २ खर्ब ८६ अर्ब १९ करोड ६९ लाख ३१ हजार रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार गरेको थियो ।

नेपालको कुल वैदेशिक व्यापारसँगै आयात निर्यातको खाडल पनि बढ्दै गएको छ । यो दुई महिनाको अवधि र गत आर्थिक वर्षको यहि दुई महिनाको अवधिको तुलना गर्दा नेपालको कुल वैदेशिक व्यापार ०.५० प्रतिशतले बढेको भन्सार विभागको तथ्यांकले देखाउँछ । नेपालको वैदेशिक व्यापार वृद्धि हुनुको कारण चालु आर्थिक वर्षको पहिलो दुई महिनाको अवधिमा आयात वृद्धि हुनु हो ।

यो अवधिमा नेपालले अन्य मुलुकबाट गर्ने आयात १.०८ प्रतिशतले वृद्धि भएको देखाउँछ । तर यहि अवधिमा नेपालको गर्नेृ निर्यात भने ५.१२ प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्षमा २६ अर्ब ४४ करोड ७० लाख ३३ हजार रुपैयाँ बराबरको निर्यात गरेको नेपालले चालू आर्थिक वर्षमा ५.१२ प्रतिशतले निर्यात घटेको हो ।

नेपालले चालु आर्थिक वर्षको साउन र भदौमा २ खर्ब ६२ अर्ब ५४ करोड २६ लाख २६ हजार रुपैयाँ बराबरको आयात गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १.०८ प्रतिशतले आयात बढेको हो । गत आर्थिक वर्षको यहि अवधिमा २ खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख ९८ हजार रुपैयाँ बराबरको आयात गरेको थियो ।

चालू आर्थिक वर्षको दुई महिनामा नेपालले २५ अर्ब ९ करोड ३१ लाख ३ हजार रुपैयाँ बराबरको निर्यात गरेको छ ।

नेपालको व्यापार घाटा २ खर्ब ३७ अर्ब ४४ करोड ९५ लाख २३ हजार रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ ।