अन्तर्वार्तामा बहिस्कार गरेका तीन जनालाई पुनः बोलाइयो


काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया पुनः अगाडी बढेको छ । अर्थमन्त्रालयले गठन गरेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रयोजनका लागि नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समितिले बिहीबार एक सूचना प्रकाशित गर्दै आवेदकमध्ये सर्टलिस्टमा परेका ५ जनामध्ये पनि प्रस्तुतीकरण र अन्तर्वार्ता बहिस्कार गरेका तीनजनालाई पुनः बोलाइएको छ ।

मन्त्रालयले कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं र डा नवराज अधिकारीलाई व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तरवार्ताका लागि असोज १८ गते बिहान ८ बजे बोलाएको हो।

यसअघि माओवादी नेतृत्वको सरकारको पालामा नै धितोपत्र बोर्डको अध्यक्ष छनौटको प्रक्रिया सुरु भएको थियो । आवेदकमध्ये सर्टलिस्टमा सन्तोषनारायण श्रेष्ठ, मुक्ति श्रेष्ठ, डा. नवराज अधिकारी, कृष्णबहादुर कार्की र डा.चिरञ्जिवी चापागाईंको नाम परेको थियो ।

अन्तिम पाँच जनामा परेका मध्ये यी तीन जना उम्मेदवार अन्तरवार्तामा सहभागी नभएपछि छनौट समितिले धितोपत्र बोर्ड अध्यक्षको लागि अन्तिम तीन जनाको नाम सिफारिस गर्न सकेको थिएन। जसकारण बोर्डको अध्यक्ष सिफारिस गर्न गठित समितिले गत असार १४ गते सूचना जारी गर्दै अहिलेसम्मका सबै प्रक्रिया रद्द गरेको थियो ।

समितिले असार पहिलो साता अध्यक्ष पदमा प्रतिस्पर्धामा रहेका संक्षिप्त सूचीमा परेका पाँच जनालाई अन्तरवार्ताका लागि बोलाएको थियो । पाँच मध्ये तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्ने योजना थियो ।

तर प्रतिस्पर्धीमध्ये मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ मात्रै अन्तरर्वार्ता लागि पुगेका थिए । धितोपत्र बोर्डको नियुक्ति प्रक्रियाअनुसार सिफारिस समितिले उम्मेद्वारमध्ये ३ जनाको नाम सिफारिस गर्नैपर्ने बाध्यकारी व्यवस्था भएका कारण २ जनाको मात्र प्रस्तुतीकरण र अन्तर्वार्ताले सो प्रक्रिया स्थगित हुन पुगेको थियो ।