भैरहवा र पोखरा विमानस्थ्ल सञ्चालन गर्नसके दोब्बर पर्यटक नेपाल भित्रिन्छन्ः अध्यक्ष शाह


काठमाडाैँ । नेपाल होटल संघ (हान) का अध्यक्ष विनायक शाहले नेपालका लागि दिगो रुपमा विदेशी मुद्रा आर्जनको मुख्य श्रोत पर्यटन क्षेत्र रहेको बताएका छन् ।

पर्यटन दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राज्यले घोषणा गरेको पर्यटन दशकलाई सार्थक बनाउन होटल संघ लगायत सम्बन्धित संघ संस्थाहरू टुगेदर फर टुरिजमको नाराका साथ अघि बढिरहेको बताए । उनले सरकारसँग काँधमा काँध मिलाएर अघि बढ्न आफूहरू तयार रहेको बताए ।

उनले सबै मिले मौ देश बनाउन सकिने भन्दै एकजुट भएर काम गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले नयाँ विमानस्थलहरु भैरहवा र पोखरालाई पूर्ण रुपमा सञ्चालनमा ल्याउनसके मुलुकमा पर्यटन आगमन आजको अवस्था भन्दा दोब्बर हुने विश्वास व्यक्त गरे ।

“दिगाे रूपमा विदेशी मुद्रा आर्जनको मुख्य श्रोत पनि पर्यटन नै हो । राज्यले घोषणा गरेको पर्यटन दशकलाई सार्थक बनाउन, राज्यले अवलम्वन गरेका नीति र कार्यक्रमहरुमा होटल संघ लगायत हामी सबै पर्यटन व्यवसायमा लाग्नेहरु टुगेदर फर टुरिजमको नाराका साथ सम्बन्धित संघसंस्था सबैले काँधमा काँध मिलाएर सहकार्य गरी यो देशको उन्नति र प्रगतिको लागि अघि बढेका छौँ । नयाँ विमानस्थलहरू भैरहवा र पोखरालाई पनि पूर्ण रुपमा सञ्चालनमा ल्याउनसके मुलुकमा पर्यटन आगमन आजको अवस्था भन्दा दोब्बर हुनसक्छन्,” उनले भने ।