हनुमानढोकास्थित दसैँघरमा जमरा राखियो (फोटो फिचर)


काठमाडाैँ । काठमाडौँको हनुमान ढोकास्थित दशैँघरमा विधिवत रूपमा जमरा राखिएको छ ।

बिहीवारबाट विधिवत रूपमा सुरू भएको नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरी विधिवत रुपमा जमरा राखिन्छ । हनुमान ढोकास्थित दशैँघरमा पनि विधिवत वैदिक मन्त्रोच्चारणसहित घटस्थापनाको शुभ साईत बिहान ९ः१६ बजे जमरा राखिएको हो ।

सो अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक पड्काएर बढाईं गरिएको छ । दशैँको पहिलो दिन घटस्थापनको अवसरमा घरघरमा जमरा राख्ने प्रचलन छ । बिहीवार बिहानै नित्यकर्म गरी नजिकको नदी वा पवित्र स्थलबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको कोठामा वा दशैँ घरमा जमरा छर्ने गरिन्छ ।

घटस्थापना गर्दा पूजाकोठा वा दसैँ घरमा विधिपूर्वक दीप, कलश र गणेशको स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजाअर्चना गरिन्छ । नवरात्रीभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ । सो अवसरमा गुर्जु पल्टनका गुल्मपति सेनानी अनिल श्रेष्ठले घटस्थापना परापूर्वकालदेखि नै मनाउँदै आएको र सबैको घरहरूमा जमरा आज राखिएको बताए । उनले हनुमान ढोकामा गुर्जुपल्टनमा जमरा राख्ने, नित्य पूजा गर्ने प्रचलनअनुसार पूजा गरी जमरा राखिएको बताए ।

त्यस्तै पण्डित सुवास कोईरालाले आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र शुरु हुने र आज दैत्यमाथि देवीले विजयी पाएको अवसरमा दसैँको पहिलो दिन जमरा राखिएको बताए । उनले देवीको प्रिय वस्तु जौ भएकाले जौको जमरा राखिएको बताए । उनले जौको मात्रै जमरा राख्नुपर्ने भएपनि जौ, गहुँ, धान, मकै पनि छर्ने गरिएको बताए ।

नवरात्रको प्रथम दिवसमा शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धीदात्रीको पूजाअर्चना गरिन्छ । विशेषतः जमरा जौ को राख्ने गरिन्छ । तर आजभोलि भने मकै र गहुँ पनि मिसाएर जमरा राख्ने प्रचलन छ ।

फाेटाे: न्युज एजेन्सी नेपाल