मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छुः खानेपानीमन्त्री यादव


काठमाडाैँ । खानेपानी मन्त्री प्रदीप यादवले मेलम्ची खानेपानीको अवरोध खुलाउन मेलम्चीका स्थानीयहरुको घरमा नै पुगेर अनुरोध गर्ने बताएका छन् ।

मन्त्री यादवले दक्षिणकालीका जनतालाई आफूले घरमा नै पुगेर विन्ती बिसाएपछि खानेपानी सहज रुपमा नख्खु क्षेत्रमा ल्याएको भन्दै विपद्को समयमा मेलम्ची पनि स्थानीयहरुको घरमा नै पुगेर अवरोध हटाउन आग्रह गर्ने बताएका हुन् ।

उनले मेलम्चीका स्थानीयहरुको चार वटा मागसहित अवरोध गरिरहेको भन्दै सरकारले वार्ताको माध्यमबाट समाधान गर्ने बताए । मेलम्चीवासीको मागमा सहमति नजिक पुगेको उनले जानकारी दिए ।

मुलुकमा असहज परिस्थिति रहेको भन्दै मन्त्री यादवले अहिलेलाई मुलुकको परिस्थिति बुझ्न मेलम्चीवासीसँग आग्रह गरेका छन् । मन्त्री यादवले वार्ता सहमतिको नजिकमा रहेको भन्दै  मेलम्चीका स्थानीयहरुले विपद्को बेलामा साथ दिने आशा रहेको बताए ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले अहिले आन्दोलन गर्ने बेला नभई एक अर्कालाई सहयोग गर्ने समय रहेको बताए । बाढी पहिरोले खानेपानीमा मात्रै करिव साढे ३ अर्बको क्षति पु¥याएको उनकाे भनाइ छ ।

उनले काठमाडौं उपत्यकाका खानेपानी संरचनामा पनि धेरै क्षति गरेको बताए । महांकाल मैदानमा भएका मेसिनरी वस्तुहरुमा क्षति भएको, कीर्तिपुरको सुन्दरीघाट ट्रान्समिसन र पम्प लगायत मेसिनरी सबै सामान ध्वस्त बनाएको उनकाे भनाइ छ ।

विपद् व्यवस्थापनबाट खानेपानी पुनःनिर्माणको काम गर्ने तयारी गरेको उनले बताए । उनले केही समयपछि क्षति भएका संरचनाहरु पुनर्निर्माण गर्ने उल्लेख गरे । सरकारले तत्कालको लागि काठमाडौं उपत्यका खानेपानीमार्फत चल्ने मेसिन मर्मत गर्ने, नयाँ मसिन खरिद गरी काम गर्ने उनकाे भनाइ छ ।

काठमाडौं उपत्यकामा मेलम्चीको पानी दशैँअघि ल्याउने तयारी गरिरहेको उनले बताए । उनले मौसम विभागसँगको सल्लाहमा मेलम्चीको खानी खोल्ने सरकारको तयारी रहेको उल्लेख गरे ।