काठमाडाैँ । तिहार, नेपाल संवत् ११४५ को नयाँ वर्ष र छठ पर्वको संघारमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै देशको आत्मनिर्भरता हासिल गर्न कृषि उत्पादन र स्वदेशी वस्तुको उपभोगलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याएका छन्।
मन्त्री अधिकारीले नेपालको १०.३० लाख हेक्टर खेतीयोग्य जमिन अझै बाँझो रहेको उल्लेख गर्दै, कृषि उत्पादन बढाउन र आयातमा निर्भरता घटाउन स्वदेशी स्रोत र साधनलाई पूर्ण उपयोग गर्नुपर्नेमा जोड दिए। उनले भने, “कृषिमा युवालाई आकर्षण गर्न कृषि सामग्री, बजार, र लगानीको सहज व्यवस्था गर्नु अहिलेको प्राथमिकता हो। यसले रोजगार सिर्जना गर्दै बाँझो जमिनलाई उत्पादनमा लगाउन मद्दत पुर्याउँछ।”
नेपालले मासु, अण्डा, र दूध उत्पादनमा आत्मनिर्भरता हासिल गर्दै गएको भए पनि स्वदेशी उत्पादनको उपभोग न्यून भएकोले किसानहरूले भुक्तानीमा समस्या भोगिरहेका छन्। मन्त्री अधिकारीले तिहार र छठ पर्वजस्ता चाडपर्वमा स्वदेशमै उत्पादित दूध, घिउ, मह, अण्डा, मासु तथा फलफूलको उपभोग गर्न सबैलाई अपिल गर्दै स्वदेशी वस्तुको प्रयोगले कृषकलाई राहत मिल्ने, उत्पादन बर्बाद हुन नपाउने र आत्मनिर्भरता हासिल गर्न सघाउ पुग्ने बताए।
मन्त्री अधिकारीले कृषिलाई सुदृढ बनाउन सरकारले कृषि लगानी दशक घोषणा गरी कार्यान्वयनमा ल्याएको जानकारी गराउँदै यसले मुलुकलाई आत्मनिर्भर बनाउन टेवा पुर्याउने विश्वास व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस्