काठमाडौँ । नेपाली चाडपर्वलाई लक्षित गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले देशभरि खाद्य पदार्थको निरीक्षण तथा अनुगमनलाई तीव्र बनाएको छ। विभागका अनुसार, असोज २३ देखि कार्तिक १२ सम्म दैनिक रूपमा सञ्चालन भएको अनुगमनमा कुल ३१२ खाद्य उद्योग तथा व्यवसायको निरीक्षण गरिएको छ। निरीक्षणको क्रममा, १०५ खाद्य बजार, १०५ खाद्य उद्योग, र १०२ होटल तथा रेस्टुरेन्टहरू समेटिएका थिए।
विभागले १०० खाद्य पदार्थका नमूनाहरू संकलन गरेको छ, जसमा ३९ नमूना खाद्य स्वच्छता परीक्षणका लागि र ६१ नमूना खाद्य स्वच्छता सर्भिलेन्सका लागि लिइएको थियो। निरीक्षणको क्रममा मिति सकिएका, लेबलबिहीन, र बिना अनुमतिपत्रका खाद्य वस्तुहरु करिब ४ लाख ४४ हजार रुपैयाँ बराबरको जफत गरी नष्ट गरिएको विभागले जनाएको छ।
मोबाइल फुड ल्याब भ्यानमार्फत, देशभर विभिन्न उद्योग र व्यवसायको अनुगमन गरिएको छ। मिठाइ, दूध, तेल, पिउने पानी, घ्यू, पेय पदार्थ, मह, नुन लगायतका ८८ खाद्य पदार्थको परीक्षण गर्दा, ८ व्यवसायमा नियम विपरीत खाद्य पदार्थ भेटिएकाले थप अनुसन्धान थालिएको छ।
भन्सारमा पनि कडाइ गरिएको विभागको प्रतिवेदनले जनाएको छ। नेपालगन्ज र वीरगन्जका भन्सार नाकामा खराब गुणस्तरका चामल, दाल, रोज वाटर, र सुगर बल लगायतका वस्तुहरूलाई फिर्ता पठाइएको छ।
खाद्य व्यवसायीलाई लेबलविहीन वस्तुको विक्री नगर्न, सफाइमा ध्यान दिन र खाद्य पदार्थको सुरक्षित भण्डारण गर्न विभागले विशेष निर्देशन दिएको छ। नियम उल्लङ्घन गर्ने व्यवसायीहरूलाई कानुनी कारबाही गरिने विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले बताए।
प्रतिक्रिया दिनुहोस्