काठमाडौँ । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले आफ्नो चार वर्षे कार्यकालमा हासिल गरिएका उपलब्धि र सुधारका प्रमुख कार्यहरू सार्वजनिक गरेका छन्। आज (मंगलबार) बोर्डमा आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक बसौलाले आफ्नो कार्यकालमा भएका कार्य र प्रगति सार्वजनिक गरेका हुन्।
डा. बसौलाले आफ्नो कार्यकालको दौरानमा स्वास्थ्य बिमा कार्यक्रमलाई ५८ जिल्लाबाट विस्तार गर्दै हाल ७७ वटै जिल्लाका ७५३ स्थानीय तहमा पुर्याएको जानकारी दिए। उनका अनुसार परिवारको आबद्धता पनि १४ प्रतिशतबाट बढेर ४० प्रतिशत पुगेको छ । संविधानले आधारभूत स्वास्थ्य सेवालाई निशुल्क बनाउँदै प्रत्येक नागरिकको स्वास्थ्य सुरक्षामा सरकारको जिम्मेवारी सुनिश्चित गरेको उल्लेख गर्दै उनले स्वास्थ्य बिमा कार्यक्रमले नेपालको स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याउने महत्त्वपूर्ण माध्यमको रूपमा भूमिका खेलिरहेको बताए।
यो कार्यक्रम सन् २०१५ (२०७२) मा सबै नागरिकलाई स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यसाथ सुरू गरिएको थियो। सन् २०३० सम्म नेपाललाई दिगो विकास लक्ष्य प्राप्त गर्न यस कार्यक्रमले योगदान पुर्याउने लक्ष्य राखेको छ। डा.बसौलाले स्वास्थ्य बिमाका माध्यमबाट आर्थिक जोखिम न्यूनीकरण गर्दै सर्वसाधारणलाई सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गराउने सरकारको योजना सफलतापूर्वक अघि बढेको बताए।
स्वास्थ्य बिमा बोर्डले बीमितको आर्थिक जोखिम न्यूनीकरण गर्न र स्वास्थ्य सेवा प्रदायकहरूको दक्षता र जवाफदेहीता अभिवृद्धि गर्ने उद्देश्यले दाबी व्यवस्थापन प्रणालीलाई चुस्त बनाउन विभिन्न सुधारहरू गरेको उनले बताए । बिमा दाबी प्रक्रियामा पारदर्शिता ल्याउन र मूल्यांकन प्रणालीलाई समयसापेक्ष परिमार्जन गर्दै दाबी समिक्षा तथा मूल्यांकन कार्यविधिको पहिलो संशोधन गरी २०७८ मा लागू गरिएको थियो। हालसम्म २ करोड ३८ लाखभन्दा बढी दाबी फर्छ्यौट गरिएको जनाइएको छ।
यसबिचमा नागरिकहरूले घरमै बसेर अनलाइनमार्फत बिमा दर्ता तथा नविकरण गर्न सक्ने व्यवस्था पनि गरिएको छ। यो प्रणाली नागरिकता परिचयपत्रको प्रयोगबाट दर्ता तथा नविकरण गर्न सहज बनाइएको छ। स्वास्थ्य बिमामा हालका चुनौती र आगामी सम्भाव्य सुधारका दिशाहरूको चर्चा गर्दै डा. बसौलाले निजि सेवा प्रदायक स्वास्थ्य संस्थाहरूसँग सहकार्य गरी बिमितलाई नजिकको सरकारी सेवा प्रदायकमार्फत सेवा दिने प्रणालीलाई व्यापक बनाउँदै लैजाने लक्ष्य रहेको बताए।
कार्यक्रमका क्रममा डा.बसौलाले वर्तमान कानुनी दस्तावेजहरूको अभावले नीति कार्यान्वयनमा केही कठिनाइ आएको स्वीकार गरे । उनले स्वास्थ्य बिमा ऐन, २०७४ र नियमावली, २०७५ को संशोधन तथा नयाँ कार्यविधिहरू निर्माणको आवश्यकता औंल्याउँदै दीर्घकालीन सुधारका लागि थप कानुनी र नीतिगत पहल गर्न सरकारलाई आग्रह गरे।
चार वर्षे कार्यकालको समापन नजिकै आउँदा डा. बसौलाले स्वास्थ्य बिमा बोर्डको यात्रा र अनुभव साझा गर्दै आगामी सुधारका निम्ति सरकारको निरन्तर सहयोग अपेक्षित रहेको धारणा व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्