काठमाण्डौँ। देशैभरीका डिजिटल स्टार्टअपहरुको सहभागितामा काठमाडौंमा २ दिने स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रम हुने भएकाे छ । लिभिङ विथ आइसिटीले आयोजना गर्ने यस प्रर्दशनीमा सयभन्दा बढि स्टर्टाअप र इन्नोभेसनहरुको प्रदर्शनी रहने जनाइएकाे छ । आयाेजकका अनुसार यहि कार्तिक २९ र ३० गते काठमाडौं बत्तिसपुतलीमा रहेकाे अनुपम फुडल्याण्डमा आयोजना हुने कार्यक्रममा ठुलो संख्यामा डिजिटल स्टार्टअप र इन्नोभेसनहरुको सहभागिता रहनेछ ।
आइसिटी अवार्ड २०२४ को प्रि-इभेन्टको रुपमा आयोजना हुने उक्त कार्यक्रममा द स्क्वाइड अफ चेन्जमेकर र इन्जिनियरर्स भ्लग्सको सहकार्य रहेको छ । यस फेस्टमा आइसिटी अवार्ड २०२४ को प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट १२ स्टार्टअप, प्रडक्ट र इन्नोभेसनहरुले समेत फेस्टमा आफ्ना आइडिया र प्रडक्टहरुको शोकेस गर्नेछन् । यसैगरी आयोजकले सातै प्रदेशबाट छनौट गरेर ल्याएका ३० बढि स्टार्टअपहरुको पनि यस कार्यक्रममा सहभागिता रहनेछ । यसैगरी सह आयोजक स्क्वाइड अफ चेन्जमेकरले स्टिम क्याम्प, रकेट साइन्स र गेमहरु सञ्चालन गर्नेछ भने इन्जिनियर भ्लग्सले रोबोट प्रतिस्पर्धा गराउनेछ ।
स्टार्टअप एण्ड आइडिया फेस्ट नेपालमै केहि नयाँ काम गरिरहेका स्टार्टअप, विद्यार्थी र इन्नोभेटरहरुलाई प्रवद्धन गर्न आयोजना गरिएको आयाेजक समितिका अध्यक्ष राजन लम्सालले बताए । यस कार्यक्रम मार्फत सरकार, इकोसिस्टम विकासमा योगदान दिने संस्था र सरोकारवालासँगै लगानी र सहयोग गर्न चाहनेहरुलाई सहकार्यको लागि आयोजकले आव्हान् गरेको छ । आइडिया र प्रडक्टमा लगानी गर्न इच्छुक भिसीहरुको लागि फेस्टमा नेटवर्किङको व्यवस्था पनि गरिने आयोजक लिभिङ विथ आइसिटीले जानकारी दिएको छ । यस कार्यक्रममा प्रर्दर्शनीमा सहभागी हुन अवलोकनकर्ताले कुनै शुल्क तिर्नुपर्दैन ।
आइसिटी अवार्ड २०२४ को लागि विभिन्न १४ विधामा छनौट प्रकृया सञ्चालनमा छ । विभिन्न चरणको छनौट पश्चात उत्कृष्ट १२ मा पर्न सफल स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार र सोसियल इन्नोभेसनहरुले पनि यस कार्यक्रममा सहभागी जनाएर आफ्नो व्यवसायलाई प्रवर्द्धन गर्न सक्ने उल्लेख गरिएकाे छ । अवलोकनकर्ताले आफुलाई मन परेका स्टार्टअप र प्रडक्टलाइ भोट पनि गर्न सक्नेछन् । आइसिटी अवार्डका विभिन्न अन्य १० विधामा दोश्रो चरणको छनौट प्रकृया जारी छ । छनौट प्रकृयाको लागि १७ जना विज्ञ जुरी समिति र १३ जना विशिष्ट सल्लाहकार समिति गठन गरिएको छ ।
नेपाल बाहिरका स्टार्टअपहरुको लागि साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड पनि आयोजना हुनेछ । नेपालको सबैभन्दा प्रतिष्ठित अवार्डको रुपमा परिचित आइसिटी अवार्डको नवौं सस्करण पुस ५ गते आयोजना हुनेछ ।
प्रतिक्रिया दिनुहोस्