काठमाडौँ । गण्डकी प्रदेश सभा सदस्य दीपक मनाङेले पछिल्लो समय आफ्नो विषयमा विभिन्न सञ्चार माध्यममा आइरहेका भ्रामक समाचार र टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। उनले आज एक प्रेस विज्ञप्तिमा जारी गर्दै विभिन्न सञ्चार माध्यममा आफू सम्पर्कविहीन भएको भन्ने समाचार असत्य रहेको बताएका हुन् ।
कार्तिक २० गते न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसलालाई सदर गरेको हो । उच्च अदालत पाटनले ज्यान मार्ने उद्योगमा मनाङेलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो । तर, उनी उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च गएका थिए ।
उनले सर्वोच्च अदालतमा विचाराधीन रहेको आफ्नो मुद्दाको फैसला भएको विषय आफ्नो कानुन व्यावसायीमार्फत थाहा पाएको बताएका छन् । उनले फैसलाको पूर्णपाठ लिखित रूपमा प्राप्त भएपछि अदालतमा उपस्थित हुने समेत जनाएका छन् ।
पूर्वमन्त्रीसमेत रहेका मनाङे मनाङको प्रदेश निर्वाचन क्षेत्र १ (ख) बाट निर्वाचित स्वतन्त्र सांसद हुन् ।
प्रतिक्रिया दिनुहोस्