काठमाडाैँ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरू हुनु निजी क्षेत्रको लागि सुखद् भएको उद्योगी व्यवसायीहरूले बताएका छन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रवारदेखि करिव पाँच महिना दैनिक १० घण्टा बन्द भएसँगै विमानस्थलको उडान कटौती गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट वायुसेवा कम्पनीहरूले उडान सुरू गरेका छन् ।
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि अर्को नयाँ विमानस्थल सञ्चालनमा आएको दुई वर्ष पूरा हुँदा पनि पूर्णरुपमा सञ्चालन हुन सकेको थिएन । तर त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति गर्न लागेकाले उडान कटौती गरी विकल्पको रुपमा अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरू गरेसँगै उद्योगी व्यवसायीहरु उत्साहित छन् । विमानस्थल बन्ने भएसँगै भैरहवामा निजी क्षेत्रले होटल लगायत पर्यटन पूर्वाधारमा ठूलो लगानी गरेका थिए ।
विमानस्थल सञ्चालनमा आउन नसक्दा खर्बौैंको लगानी डुब्ने चिन्तामा रहेका उद्योगी व्यवसायीहरूलाई थोरै भएपनि राहत हुने देखिएको छ । उद्योगी व्यवसायीहरूले राज्यले नीतिगत रूपमा वैदेशिक रोजगारीमा जाने यात्रुहरूको लागि पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट केही उडान गर्ने व्यवस्था गरी पर्यटनको लागि प्रचारप्रसार गर्नुपर्ने व्यवसायीहरूको भनाइ छ ।
उनीहरूले बहाना गर्ने नभइ अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई सहुलियत र सेवा सुविधा दिएर दीर्घकालिन रूपमा सञ्चालन गर्न आवश्यक रहेको बताएका छन् । जजिरा,थाई र एयर एशियाले विमानस्थलबाट उडान नै सुरू गरेका छन् । विमानस्थल सञ्चालनसँगै आर्थिक क्षेत्रसँग जोड्न आवश्यक रहेको निजी क्षेत्रले बताएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको लागि १० घण्टा बन्द गर्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु हुनु निजी क्षेत्रको लागि सुखद् भएको बताए । उनले निजी क्षेत्रले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न बारम्बार सरकारसँग माग गर्दै आएको भन्दै काठमाडौँमाको विमानस्थल बिस्तारको क्रममा उडान कटौती गरी भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरू हुनु निजी क्षेत्रको लागि सकारात्मक भएको उल्लेख गरे । उनले भैरहवा,बुटवल क्षेत्रमा होेटलमा निजी क्षेत्रको ठूलो लगानी भएपनि विमानस्थल सञ्चालनमा आउन नसक्दा खर्बौंको लगानी डुब्ने अवस्थामा रहेको बताए ।
उद्योगी व्यवसायी पवन गोल्यानले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरू हुनु निजी क्षेत्रको लागि सकारात्मक भएको बताए । उनले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको बहानामा भएपनि निजी क्षेत्रका लागि सुखद् र उत्साह बढाउने काम भएको उल्लेख गरे ।
उनले थाई एयर एशियाले उडान शुरु गरेको भन्दै गौतमबुद्धको जन्म भूमिलाई सरकारले मार्केटिङ गर्न सक्नुपर्ने धारणा राखे । उनले थाइल्याण्डका ९९ प्रतिशत बुद्धर्धमालम्वीहरूलाई बुद्ध नेपालमा जन्मिएको भन्ने थाहा नभएको भन्दै नेपालले प्रचारप्रसार गर्न आवश्यक रहेको बताए । गोल्यानले अन्तर्राष्ट्रिय सबै उडान काठमाडौँबाट हुँदा ठूलो चाप परिरहेको भन्दै केही उडान पोखरा र भैरहवबाट गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्