सांसदहरूलाई सहकारी सचिवको प्रश्नः सहकारीको सबै बचत सरकारले फिर्ता गर्ने हो र ?


काठमाडाैँ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले सहकारीमा राखिएका सबै बचत सरकारले फिर्ता गर्ने हो ? भनि प्रश्न गरेका छन् ।

बुधवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उनले सांसदहरूमाझ सो प्रश्न गरेका हुन्। सचिव पोखरेलले सो प्रश्न बौद्धिक बहसको विषय भएको उल्लेख गर्दै त्यसको छिनोफानो गरेर अघि बढ्दा उपयुक्त हुुने धारणा समेत राखे। उनले संकटग्रस्त सहकारीका वचतकर्ताहरूको वचत रकम फिर्ता गर्ने कार्यलाई सरकारले प्रचलित कानून बमोजिम अघि बढाएको पनि स्मरण गराए ।

सहकारीका बचतकर्ताहरूको रकम फिर्ता गर्ने विषयलाई सरकारले जिम्मेवारीपूर्वक अघि बढाएको उल्लेख गर्दै सचिव पोखरेलले त्यसलाई फरकफारक गर्ने विषयमा सम्बन्धित निकायहरूले क्रियाशिल भएर काम गरिरहेको बताए । उनले सरकारले संकटउन्मुख सहकारीहरुको अवस्था बुझने कामलाई पनि अघि बढाएको बताए । सचिव पोखरेलले सरकारले सहकारी क्षेत्रको नियमनका लागि छुट्टै प्राधिकरण बनाउने कामलाई अघि बढाएको पनि बताए ।