निजगढमा सामूदायिक आँखा अस्पताल सेवा संचालनमा, वार्षिक ५५ हजार बिरामीले सेवा लिने अपेक्षा


काठमाडाैं । तिलगंगा आँखा प्रतिष्ठान र फ्रेड हलोज फाउण्डेसन अष्ट्रेलियासँगको साझेदारीमा निजगढ न.पा–९ मा निर्माण सम्पन्न भएको निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालको आज उद्घाटन गरि सेवा सुचारु भएकाे ।

करिब ३० करोडको लागतमा बनेको यो अस्पताल बारा जिल्लाको पहिलो सामुदायिक आँखा अस्पताल हो । अस्पतालमा हरेक वर्ष ५५ हजार बिरामीलाई उपचार प्रदान गर्न सक्ने क्षमता रहेको छ । स्थानिय समुदायलाई गुणस्तरीय, सर्वसुलभ र पहुँच योग्य आँखा उपचार सेवा उपलब्ध गराउने विश्वास लिइएकाे छ ।

कार्यक्रममा तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा.डा.सन्दुक रुइटले भने, “यो भेगमा गुणस्तरीय, सर्वशुलभ र पहुँच योग्य अस्पताल ल्याउने हाम्रो सपना आज साकार भएको छ । दिगो र उच्च गुणस्तरको आधारभूत आँखा उपचार सेवा प्रदान गर्ने हाम्रो प्रतिवद्धतामा यो अर्को महत्वपूर्ण कदम हो । यो अस्पताल आशा र समपर्णको प्रतिक हो जसले आँखा उपचारको आवश्यकता भएका सबै बिरामीलाई सेवा प्रदान गर्ने हाम्रो प्रतिवद्धतालाई अगाडि बढाउँछ ।”

द फ्रेड हलोज फाउन्डेशनका प्रमुख कार्यकारी अधिकृत इयान विशार्टले भने, “यो अस्पताल, द फ्रेड हलोज फाउन्डेशनको लागि नयाँ अध्यायको शुरुआत हो, जसले तिलगंगा आँखा प्रतिष्ठान, स्थानीय साझेदार र समुदायहरूसँग एक मजबुत र दिगो सम्बन्ध स्थापित गरेको छ । हाम्रो कामको केन्द्रमा सधैं एकीकृत, जनमुखी आँखा उपचार हुन्छ र हामी निजगढ र वरपरका सबैभन्दा आवश्यकता भएका बिरामीहरूको दृष्टि जोगाउने उदेश्यमा लागीपरेका छौं ।”

नेपालमा हाल करिव ९३ हजार ३०० जना दृष्टिविहिन छन् र करिव सात लाख ८२ हजार ७०० जनाले कुनै न कुनै प्रकारको दृष्टि समस्या सहित जीवन व्यतित गरिरहेका छन् । अन्धोपनको भार मधेश प्रदेशमा देशकै दोस्रो उच्चतम स्थानमा रहेको छ तथापि, ८० प्रतिशत दृष्टि समस्याको उपचार सम्भव रहेकाे र अत्यन्तै कम लागतमा प्रभावकारी उपचार विधिहरूबाट यसको उपचार गर्न सकिने तिलगंगा आँखा प्रतिष्ठानले जनाएकाे छ ।

प्रतिष्ठान अन्तर्गतको निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालले मोतिविन्दु, दृष्टिदोष, डाइबेटीक रेटिनोप्याथी, र अन्य आँखा रोगहरूको उपचारमा ध्यान दिनेछ, जसका लागि अत्याधुनिक उपचार विधी र समग्र सेवा प्रदान हुने छ ।

आगामी पाँच वर्षमा, यो अस्पतालले मधेश प्रदेशबाट अनुमानित २ लाख ७४ हजार आँखा बिरामीको उपचार गर्ने लक्ष्य लिएको छ । यो अस्पतालले प्रत्यक्ष वा परोक्ष रुपमा यस क्षेत्रका ३० लाख भन्दा बढि व्यक्तिहरूमा गुणस्तरिय आँखा सेवाको पहुँच विस्तार गर्ने आकंलन गरिएको छ ।

प्रा.डा. रुइटले तिलगंगा आँखा प्रतिष्ठानको तर्फबाट द फ्रेड होलोज फाउन्डेशन, एसिएमई फाउन्डेशन, डि. हच्न्सन र दाताहरूको साथ र समर्थनले यो अस्पताल स्थापना गर्ने सपनाालाई वास्तविकतामा परिणत गर्न पाएकोमा आभार व्यक्त गरे ।